२०८२ फाल्गुन १० गते, आईतवार २१:५३

निर्वाचन सुरक्षाका लागि ७२ घण्टा सीमा ‘सिल’ गर्ने नेपाल–भारत सहमति

वीरगन्ज-

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमा क्षेत्र निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडिदेखि पूर्ण रूपमा बन्द (सिल) गरिने भएको छ । शनिबार वीरगन्जमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरूको ‘सीमा समन्वय समिति’ (Border Coordination Committee) को बैठकले यस्तो निर्णय गरेको हो ।

निर्वाचनको समयमा सीमा नाकाबाट हुन सक्ने आपराधिक गतिविधि र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै दुवै देशका अधिकारीहरू मतदानको ३ दिन अघिदेखि सीमा सिल गर्न सहमत भएका हुन् । बैठकमा मुख्य गरी निर्वाचन लक्षित सुरक्षा रणनीति र ‘क्रस बोर्डर’ अपराध नियन्त्रणका विषयमा घनीभूत छलफल भएको थियो ।

यी हुन् बैठकका मुख्य बुँदाहरू:

  • आवतजावतमा रोक: मतदानको ७२ घण्टा अघिदेखि एम्बुलेन्स र अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण आवतजावतलाई पूर्ण रूपमा बन्द गरिने ।

  • मदिरा र नक्कली नोटमा कडाइ: सीमा क्षेत्रमा हुन सक्ने मदिराको अवैध खरिद–बिक्री, सेवन र नक्कली नोटको कारोबारलाई रोक्न विशेष टोली परिचालन गरी निगरानी बढाइने ।

  • उच्च सतर्कता: सीमावर्ती क्षेत्रमा हुन सक्ने सम्भावित झडप वा अवैध घुसपैठ रोक्न दुवै देशका सुरक्षाकर्मीले ‘जोइन्ट पेट्रोलिङ’ र कडा चेकिङ गर्ने ।

बैठकमा नेपालका तर्फबाट पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल र बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा सुरक्षा टोली सहभागी थियो । बैठकमा नेपाली सेनाबाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित प्रमुखहरूको उपस्थिति रहेको थियो ।

त्यस्तै, भारतीय पक्षको नेतृत्व बिहार राज्यको पूर्वी चम्पारणका डिस्ट्रिक्ट मजिस्ट्रेट (DM) सौरभ जोरवाल र पश्चिम चम्पारणका मजिस्ट्रेट धर्मेन्द्र कुमारले गरेका थिए । बैठकमा भारतीय सीमा सुरक्षा बल (SSB) का अधिकारीहरूको पनि सहभागिता थियो ।

निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन सीमा सुरक्षा नै प्रमुख चुनौती रहने निष्कर्ष निकाल्दै दुवै पक्षले सूचना आदानप्रदानलाई थप तीव्र बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।

पोडकास्ट सुन्नुहोस