२०८२ फाल्गुन ११ गते, सोमबार ०३:०९

झण्डा जलाउनु सामान्य विषय होइन, यो आस्थामाथिको गम्भीर अपराध हो: अध्यक्ष ओली

File Photo

भद्रपुर –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा जलाउने कार्यलाई आपराधिक संज्ञा दिँदै यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउनुभएको छ। झापाको भद्रपुरमा आयोजित विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले झण्डा केवल कपडाको टुक्रा नभई आन्दोलन, आस्था र आदर्शको प्रतीक भएको स्पष्ट पार्नुभयो।

अध्यक्ष ओलीले झण्डाको रक्षा र सम्मानका लागि मानिसहरू जे पनि गर्न तयार हुने उल्लेख गर्दै कसैको आस्था र विश्वासलाई जलाउने अधिकार कसैलाई नभएको जिकिर गर्नुभयो। “झण्डा हाम्रो आन्दोलनको प्रतीक हो, यो हाम्रो रगत र पसिनाले सिञ्चित छ,” उहाँले भन्नुभयो, “कसैको आस्थालाई यसरी अपमानित गर्नु गम्भीर अपराध हो।”

सम्बोधनका क्रममा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ सङ्केत गर्दै दाङमा झण्डा जलाइएको घटनाले चुनावी माहोल बिगार्ने मनसाय प्रष्ट पारेको आरोप लगाउनुभयो। उहाँले निर्वाचन जित्ने आधार नदेखेपछि विपक्षीहरू अवाञ्छित हर्कतमा उत्रिएको दाबी गर्नुभयो।

“मनोनयनकै दिनदेखि दमकबाट यस्ता अवाञ्छित गतिविधिहरू सुरु भएका छन्,” ओलीले भन्नुभयो, “सूर्य अङ्कित झण्डा एमालेको पहिचान हो, यसमाथि गरिएको आक्रमण एमालेको सिङ्गो आन्दोलनमाथिको प्रहार हो।”

सोही कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न दल परित्याग गरी आएका सयौँ ‘जेनजी’ (Gen-Z) पुस्ताका युवाहरूलाई पार्टीमा स्वागत गर्नुभएको थियो। नयाँ पुस्ताको उत्साहपूर्ण सहभागिताले एमालेको संगठनमा नयाँ ऊर्जा थपेको उहाँको भनाइ थियो।

राष्ट्रिय युवा संघ भद्रपुरका अध्यक्ष दीपक बुढाथोकीले युवाहरूको यो आकर्षणले संगठनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै देशभर संगठन सुदृढीकरण र युवा परिचालन अभियानलाई तीव्रता दिने निर्णय समेत गरेको छ। भेलामा स्थानीय नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।

पोडकास्ट सुन्नुहोस