वीरगन्ज-
प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता एकढिक्का भएका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नं. १ का उम्मेदवार अनिल कुमार रुङ्गटालाई विजयी गराउन जिल्ला कार्यसमितिदेखि वडा इकाइ समितिसम्मका नेता–कार्यकर्ता सक्रिय रूपमा मैदानमा उत्रिएका छन्।
उम्मेदवार रुङ्गटा मत माग्न घरदैलोमा पुग्दा जिल्ला समिति, क्षेत्रीय समिति तथा वडा इकाइ समितिका पदाधिकारी र सदस्यहरू साथमै सहभागी भई मतदातालाई कांग्रेसको ‘रुख’ चुनाव चिह्नमा मतदान गर्न आग्रह गरिरहेका छन्।
यसैक्रममा आइतबार वीरगन्ज महानगरपालिका २२ जगरनाथपुरमा आयोजित घरदैलो कार्यक्रममा उत्साहजनक जनसहभागिता देखिएको थियो। जगरनाथपुर इकाइ अध्यक्ष नागेन्द्र प्रसाद यादवको नेतृत्वमा सम्पन्न कार्यक्रममा युवादेखि ज्येष्ठ कार्यकर्तासम्मको बाक्लो उपस्थिति रहेको थियो। प्रचार कार्यालय उद्घाटनपछि उम्मेदवार रुङ्गटा मतदाताको घरआँगनमा पुगेर भेटघाट तथा संवादमा सक्रिय देखिनु भयो।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि राजकृष्ण आमात्यको उपस्थितिले पुराना तथा नयाँ कार्यकर्तामा थप उत्साह थपिएको बताइएको छ । स्थानीय नेता कार्यकर्ताले उम्मेदवार रुङ्गटालाई मतदातासँग परिचय गराउँदै रुख चिह्नमा मतदान गर्न आग्रह गरेका थिए। जगरनाथपुरवासीले पार्टीभित्रको एकता देखेर खुसी व्यक्त गर्दै यसपटक कांग्रेसलाई समर्थन गर्ने आश्वासन दिएको स्थानीय नेताहरूले जानकारी दिएका छन्।
पर्सा क्षेत्र नं. १ का सभापति अरविन्द गुप्ताका अनुसार विगत निर्वाचनमा आन्तरिक असहमतिको कारण अपेक्षित परिणाम नआए पनि यसपटक पार्टीका क्रियाशील सदस्यदेखि शीर्ष नेतृत्वसम्म एकमत भएर अघि बढेकाले जित सुनिश्चित भएको दाबी गर्नुभयो। उहाँले कार्यकर्ताहरू स्वस्फूर्त रूपमा प्रचारप्रसारमा जुटेको र जिल्ला स्तरका सबै नेता उम्मेदवारलाई विजयी गराउन दिनरात खटिरहेको बताउनुभयो।
संविधानसभा सदस्य एवं पूर्व जिल्ला सभापति अजय कुमार द्विवेदीले प्रचारप्रसारको नेतृत्व गरिरहनुभएको छ भने उपसभापति रामनारायण कुर्मी व्यवस्थापन तथा समन्वयमा सक्रिय रहेको जानकारी दिइएको छ।
घरदैलो अभियानमा देखिएको सहभागिता र पार्टीभित्रको एकताले विपक्षी दलहरू दबाबमा परेको दाबी गर्दै सभापति गुप्ताले पर्सा क्षेत्र नं. १ मात्र नभई जिल्लाका चारै निर्वाचन क्षेत्रमा कांग्रेसले सकारात्मक सन्देश प्रवाह गरिसकेको उल्लेख गर्नुभयो । पार्टी सभापति गगन थापाले घरर्फिने अभियान देशभार संचारल गरेपछि अन्यपार्टीमा रहेका पुराना नेता कार्यकर्ता नेपाली काँग्रेसमा फर्किनेक्रम बढदै गएको छ र यसलाई पार्टीलाई थप बलियो बनाएको छ ।
घरर्फक अभियान अन्तरगत नेकपा एमालेको केन्द्रीय सदस्य समेत भएका बसरुद्दिन अन्सारी काँग्रेसमा फर्किएपछि पर्साको क्षेत्र नं. १मा काँग्रेस थप बिलायोे भएको सभापति गुप्ताले भनाइ रहेको छ ।













