२०८२ फाल्गुन १० गते, आईतवार २३:२९

जसपा नेपालका उम्मेदवार यादवद्वारा पिपरामा घरदैलो

मधेसीको अधिकार र पहिचान दिलाउने पार्टीलाई मत दिने मतदाताको आश्वासन

वीरगन्ज-

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामनेश यादवले आज वीरगन्जको पिपरा क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।

वीरगन्ज महानगरपालिका–१ अन्तर्गत ठुलोपिपरा र सानोपिपराका मतदाताको घरआँगनमा पुगेका उम्मेदवार यादवले मधेस र मधेसी समुदायको सम्मान, अधिकार र पहिचान सुनिश्चित गर्न जसपा नेपालको चुनाव चिन्ह ‘छाता’ मा मतदान गर्न आग्रह गर्नुभयो। उहाँले मधेसी जनतालाई अधिकारसम्पन्न बनाउन तथा बाँकी रहेका मधेसका माग पूरा गर्न जसपा नेपालको सरकार आवश्यक रहेको बताउँदै मतदातासँग समर्थन माग्नुभयो।

घरदैलोका क्रममा भेटिएका मतदाताले मधेसीको पहिचान र अधिकारका लागि संघर्षरत पार्टीलाई समर्थन गर्ने आश्वासन दिएको जसपा वीरगन्ज महानगरपालिकाका अध्यक्ष घनश्याम गुप्ताले जानकारी दिनुभयो। उहाँका अनुसार पिपरावासीले छाता चिन्हमा मतदान गर्दै मधेसी अधिकारको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।

चुनावी प्रचारका लागि बिहानै पिपरा पुगेका उम्मेदवार यादवसँगै पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र कुर्मी, विरेन्द्र यादव, फिरोज मन्सुर, करिमा बेगम, महानगर अध्यक्ष घनश्याम गुप्ता, प्रदेश समिति सदस्य शेख समिरलगायत नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

पोडकास्ट सुन्नुहोस