२०८२ फाल्गुन १० गते, आईतवार २१:५६

निर्वाचनको अवसरमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस

काठमाडौं –

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको अवसरमा देशभर तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ। मतदाताको सहजता र उत्साहजनक सहभागिता सुनिश्चित गर्न आयोगले फागुन २० गतेदेखि २२ गतेसम्म बिदाको प्रस्ताव गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, निर्वाचनलाई व्यवस्थित बनाउन र टाढा-टाढा रहेका मतदातालाई आफ्नो मतदान केन्द्रसम्म पुग्न समय उपलब्ध गराउने उद्देश्यले यो सिफारिस गरिएको हो।

“मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ,” प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।

प्रतिनिधिसभा सदस्य चयनका लागि आगामी फागुन २१ गते मुलुकभर मतदान हुँदैछ। आयोगको यो सिफारिसलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि औपचारिक रूपमा बिदा लागू हुनेछ। मतदान केन्द्रहरू अधिकांश विद्यालयमा रहने र कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले पनि यो बिदा आवश्यक मानिएको छ।

पोडकास्ट सुन्नुहोस