वीरगन्ज-
सामाजिक सद्भावमा खलल पुर्याउन खोजेको अभियोगमा पर्सा प्रहरीले वीरगन्जबाट आइतबार साँझ दुई जना युवालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
श्रीपुरस्थित मस्जिद नजिकै सडकमा उभिएका स्थानीयलाई विनाकारण कुटपिट गरी सामाजिक सद्भाव बिगार्ने कार्यमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले जानकारी दिनुभयो।
सडकमा उभिएका स्थानीय युवाहरूलाई अनाहकमा कुटपिट गर्दा शान्ति भङ्ग भई सामाजिक सद्भाव बिग्रने अवस्था सिर्जना भएपछि घटनामा संलग्न रहेकाहरूको अनुसन्धानका लागि प्रहरीले सक्रियता बढाएको हो।
घटनाका मुख्य आरोपी भनिएका नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य मोहम्मद निजाम अहिले प्रहरीको सम्पर्क बाहिर रहेका छन्। डीएसपी बस्नेतका अनुसार निजामलाई सोधपुछका लागि सम्पर्क गर्न खोज्दा उनी फेला नपरेपछि खोजी कार्य तीव्र पारिएको छ। प्रहरी टोली उनको घरमा पुग्दा उनी त्यहाँ नरहेको पाइएको छ।
निजाम लगायतका युवाहरूको समूहले गरेको कुटपिटबाट स्थानीय ललन महतो, अमर महतो, धिरज साह लगायत चार जना युवा घाइते भएका छन्। घाइतेहरूको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको प्रहरीले जनाएको छ।
यसैबीच, घटनाको विरोधमा उत्रिएका स्थानीय युवाहरूले आक्रोश पोख्दै यसलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिएका छन्। प्रतिनिधिसभा निर्वाचनमा हार निश्चित देखेपछि एक राजनीतिक नेताले सामाजिक सद्भाव बिथोलेर चुनाव भाँड्न खोजेको उनीहरूको आरोप छ। प्रशासनले दोषीलाई कडा कारबाही नगरे थप आन्दोलन गर्ने चेतावनीसमेत स्थानीयले दिएका छन्।













