वीरगन्ज-
प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर–१ मा चुनावी सरगर्मी निकै बढेको छ। यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तले आफ्नो चुनावी अभियानलाई आक्रामक रूपमा अगाडि बढाएका छन्।
वीरगन्ज महानगरपालिका–हरपतगन्जमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पन्तले पुराना राजनीतिक दलहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो। महेश यादवको सभापतित्वमा सम्पन्न उक्त सभामा पन्तले भन्नुभयो, “पुरानै शैलीबाट देशको विकास सम्भव छैन। नयाँ सोच र स्पष्ट भिजन भएको जनउत्तरदायी नेतृत्वका लागि रास्वपा चुनावी मैदानमा आएको हो।” उहाँले यसपटक मत परिवर्तन गरी देशमा ठोस परिवर्तनको आधार तयार गर्न मतदातासँग आग्रह गर्नुभयो।
त्यसैगरी, वीरगन्ज –२२ जगरनाथपुरमा आयोजित अर्को कोणसभामा पन्तले वीरगन्ज का बन्द उद्योगहरू पुनः सञ्चालन गर्ने योजना सुनाउनुभयो। पार्टीका संयोजक युवराज पटेलको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै पन्तले भन्नुभयो, “पुरानो चिनी कारखाना लगायतका बन्द उद्योग चलाउने स्पष्ट भिजन हामीसँग छ। रास्वपाको विजयले मात्र यहाँ औद्योगिक पुनर्जागरण सम्भव छ।” कार्यक्रममा सगीर अन्सारी, शिवजी ठाकुर, आनन्द साह, भगवान गिरी, नन्दु कुर्मी र उपेन्द्र पटेल लगायतका युवाहरूको सक्रिय सहभागिता थियो।
शुक्रबार बिहान वीरगञ्ज–१५ भेडिआहीमा उम्मेदवार पन्तले घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। घरदैलोका क्रममा स्थानीयले पन्तलाई संसदमा पुर्याउन सहयोग गर्ने आश्वासन दिएका छन्। सोही क्रममा नेकपा (एमाले) का कार्यकर्तासँग सामान्य तनावको स्थिति सिर्जना भए पनि सुरक्षाकर्मी र नेताहरूको सुझबुझका कारण कुनै अप्रिय घटना हुन नपाएको बताइएको छ।
पर्सा–१ मा पुराना स्थापित दल र रास्वपा जस्तो नयाँ शक्तिबीचको प्रतिस्पर्धा रोचक बन्दै गएको छ। उम्मेदवार पन्तले घरदैलो, टोलसभा र युवाकेन्द्रित अन्तरक्रियामार्फत मतदातासँगको संवादलाई थप प्रभावकारी बनाउने रणनीति लिएको जानकारी दिनुभयो। निर्वाचन नजिकिँदै गर्दा रास्वपाको यो सक्रियताले क्षेत्रको राजनीतिक समीकरणमा नयाँ तरंग पैदा गरेको छ।













