काठमाडौं-

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूँजी बजारको डिजिटल पूर्वाधार सुरक्षित र विश्वसनीय बनाउन ‘आईटी अडिट गाइडलाइन्स–२०२६’ जारी गर्दै ब्रोकर कम्पनीका लागि अनिवार्य सूचना प्रविधि (आईटी) अडिट व्यवस्था लागू गरेको छ ।

नयाँ प्रावधानअनुसार प्रत्येक ब्रोकरले दुई वर्षमा कम्तीमा एक पटक आईटी अडिट गराउनुपर्नेछ भने नयाँ ब्रोकरले कारोबार सुरु गरेको छ महिनाभित्र पहिलो अडिट सम्पन्न गर्नुपर्नेछ । अडिट मान्यताप्राप्त आईटी विज्ञ वा अडिट फर्ममार्फत गराइ प्रतिवेदन नेप्सेसमक्ष पेस गर्नुपर्नेछ । निर्देशिकाअनुसार ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस), ब्याक अफिस सफ्टवेयर, ग्राहक डेटा व्यवस्थापन, सर्भर, डाटाबेस, नेटवर्क, वेबसाइट तथा मोबाइल एपलगायत सम्पूर्ण डिजिटल संरचना परीक्षणको दायरामा पर्नेछन् ।

साथै, प्रयोगकर्ता प्रमाणीकरण, डेटा ब्याकअप, फायरवाल, इन्क्रिप्सन र साइबर सुरक्षा नीतिको प्रभावकारिता पनि अनिवार्य रूपमा परीक्षण गर्नुपर्नेछ । नेप्सेले अनलाइन कारोबार विस्तारसँगै बढ्दो साइबर जोखिमलाई मध्यनजर गर्दै अडिटलाई संस्थागत गरेको जनाएको छ । निर्देशिका उल्लङ्घन गर्ने ब्रोकर कम्पनीमाथि कारबाहीको व्यवस्था समेत राखिएको छ ।