२०८२ फाल्गुन २१ गते, बिहीबार १९:२५

देशभर शान्तिपूर्ण मतदान सम्पन्न, प्रारम्भिक मतदर ६० प्रतिशत अनुमान

काठमाडौं –

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए ।
यसैगरी आयोगले पत्रकार सम्मेलन गर्दै देशभरको निर्वाचन व्यवस्थापनमा सहयोग गर्ने सबै पक्ष नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, आम मतदाता र सञ्चारमाध्यमप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
प्रारम्भिक विवरण अनुसार करिब ६० प्रतिशत मत खसेको आयुक्त रामप्रसाद भण्डारीले बताए ।
उनले भने, ‘२०८२ फागुन २१ गते बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतदान कार्य बिहान ७ बजेदेखि साझ ५ बजेसम्म शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ । यस कार्यको लागि सहयोग गरेकोमा निर्वाचन आयोग नेपाल सरकार, प्रदेश सरकार, स्थानिय तह, सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, आममतदाता, सञ्चारमाध्यम सम्पूर्ण सरोकारहरुमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्न चाहन्छौं । देशभर प्राप्त विवरण अनुसार करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।’
यसैगरी मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि निर्देशिका २०८२ अनुसार मतगणना तत्काल सुरु हुने जनाइएको छ । केही मतदान केन्द्रमा भने तोकिएको समयमा प्रवेश गरेका मतदाताहरूले मतदान प्रक्रिया जारी राखेका छन् ।
निर्वाचन प्रर्यवेक्षणमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको प्रारम्भिक रिपोर्टले पनि देशभर शान्तिपूर्ण मतदान भएको पुष्टि गरेको समेत आयोगले जनाएको छ ।
दुर्गम १५ जिल्लामा हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी गरिने छ । यसमा ताप्लेजुङ, रसुवा, दोलखा, बाजाङ, पूर्वी रुकुमका सम्पूर्ण मतपेटिका आजै सम्बन्धित मतगणना स्थलमा पुर्याइने लक्ष्य राखिएको छ । संखुवासभा, सोलुखुम्बु, गोरखा, पश्चिम रुकुम, मनाङ, बाजुरा र हुम्लामा भने शुक्रबार बिहानसम्म मतपेटिका मतगणना स्थलमा पुर्याइने निर्वाचन आयोगले जनाएको छ ।

पोडकास्ट सुन्नुहोस