२०८२ फाल्गुन २७ गते, बुधबार १९:००

जनचेतनाको कमीले १६ हजार बढी मत अमान्य

वीरगञ्ज-
पर्सा जिल्लामा हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्षतर्फको निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको आधिकारिक तथ्याङ्क अनुसार जिल्लाभर १६ हजार ४ सय ३० मत बदर भएको हो । यो संख्या जिल्लाभर खसेको कुल मतको ६.३३ प्रतिशत हुन आउँछ ।

जनचेतनाको कमी तथा निर्वाचनका क्रममा गरिने प्रचारप्रसार र मतदाता शिक्षा प्रभावकारी नहुँदा मतपत्र बढी बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्रगत विवरण र बदर मतको अवस्था
जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी कुल २ लाख ५९ हजार २ सय ६४ मत खसेको थियो । जसमा क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी मत बदर भएको देखिएको छ भने क्षेत्र नम्बर ४ मा तुलनात्मक रूपमा कम बदर भएको छ । मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीका अनुसार क्षेत्रगत बदर मतको अवस्था निम्न बमोजिम रहेको छ:
| निर्वाचन क्षेत्र | खसेको कुल मत | बदर मत संख्या |
|—|—|—|
| क्षेत्र नम्बर १ | ६१,३०६ | ४,०८१ |
| क्षेत्र नम्बर २ | ६५,८७८ | ४,५०० |
| क्षेत्र नम्बर ३ | ६७,११३ | ४,७३० |
| क्षेत्र नम्बर ४ | ६४,९६७ | ३,११९ |
| जिल्लाभरको कुल | २,५९,२६४ | १६,४३० |
गत २१ फागुनमा सम्पन्न निर्वाचनमा मतदाताहरूले उत्साहजनक सहभागिता जनाए तापनि बदर मतको यो तथ्याङ्कले निर्वाचन आयोग र राजनीतिक दलहरूको मतदाता शिक्षा कार्यक्रममाथि प्रश्न उठाएको छ । बदर मतको संख्या हरेक क्षेत्रमा उल्लेख्य देखिएकाले आगामी निर्वाचनमा मतदातालाई सही ढङ्गले स्वस्तिक छाप लगाउने र मतपत्र पट्याउने विषयमा सचेतना फैलाउनु पर्ने आवश्यकता देखिएको छ ।

पोडकास्ट सुन्नुहोस