२०८२ चैत्र ६ गते, शुक्रबार ०८:३९

खाडीका ऊर्जा संरचनामा भइरहेका आक्रमणले विश्व स्तरमै उर्जासंकटको जोखिम

वीरगन्ज-

अमेरिका, इजरायल र इरानबीच जारी युद्ध पछिल्ला दिनहरूमा झन् भयावह बन्दै गएको छ। ऊर्जा संरचना, सामुद्रिक मार्ग र रणनीतिक सैन्य लक्ष्यहरूमा केन्द्रित आक्रमणका कारण यो द्वन्द्व अब पूर्ण रूपमा क्षेत्रीय युद्धमा रूपान्तरण भएको विश्लेषण गरिएको छ।

पछिल्लो २४–४८ घण्टामा इजरायलले इरानको विश्वकै ठूलो ग्यास क्षेत्र साउथ पार्समा आक्रमण गर्दै ऊर्जा उत्पादन प्रणालीमा गम्भीर क्षति पुर्‍याएको छ। उक्त आक्रमणले विश्व ऊर्जा बजारमा ठूलो हलचल ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इजरायलको आक्रमणपछि इरानले पनि कडा प्रतिआक्रमण सुरु गरेको छ। इरानले इजरायलका महत्वपूर्ण औद्योगिक तथा ऊर्जा संरचनासहित खाडी क्षेत्रका केही तेल–ग्यास पूर्वाधारमा मिसाइल र ड्रोन आक्रमण गरेको खबर सार्वजनिक भएको छ। यसले युद्धको दायरा झन् फराकिलो बनाउँदै अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति प्रणालीमा जोखिम बढाएको छ।

यता, अमेरिका पनि युद्धमा सक्रिय रूपमा संलग्न देखिएको छ। विशेषगरी विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज जलडमरूमध्यको सुरक्षाका लागि अमेरिकी सेनाले A-10 युद्धक विमान, Apache हेलिकोप्टर लगायतका अत्याधुनिक हतियार तैनाथ गरेको छ। साथै, अमेरिकाले इरानभित्रका विभिन्न सैन्य लक्ष्यहरूमा हवाई आक्रमण जारी राखेको बताइएको छ।

अमेरिकी अधिकारीहरूले युद्ध अन्त्यको स्पष्ट समयसीमा नरहेको संकेत दिएका छन्, जसले द्वन्द्व अझ लम्बिन सक्ने आकलन गरिएको छ। यद्यपि, अमेरिका प्रत्यक्ष स्थलगत युद्धमा प्रवेश गर्ने विषयमा भने सतर्क देखिएको छ।

यसैबीच, इजरायलले आफ्नो सैन्य कारबाहीलाई अझ विस्तार गर्दै इरानका नौसैनिक संरचनामाथि पनि आक्रमण गरेको छ। इजरायली नेतृत्वले युद्धपछि मध्यपूर्वको ऊर्जा आपूर्ति संरचनामा आफ्नो प्रभाव बढाउने रणनीति अघि सारेको संकेत गरेको छ।

युद्धका कारण विश्वभर तेलको मूल्य बढ्दै गएको छ भने ऊर्जा आपूर्ति अस्थिर बन्दै गएको छ। साथै, हजारौं मानिसको ज्यान गएको र ठूलो संख्यामा नागरिक विस्थापित हुने जोखिम बढेको अन्तर्राष्ट्रिय रिपोर्टहरूमा उल्लेख गरिएको छ।

नेपालमा इन्धन, ग्यास र महँगी संकटको खतरा बढ्दो

अमेरिका, इजरायल र इरानबीच चर्किएको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढाइरहेका बेला यसको प्रत्यक्ष असर नेपालमा पनि देखिन सक्ने संकेत देखिएको छ। ऊर्जा संरचनामाथि भइरहेका आक्रमण र हर्मुज जलडमरूमध्यमा बढ्दो सुरक्षा जोखिमका कारण तेल आपूर्ति प्रणाली प्रभावित हुन थालेपछि नेपालमा इन्धन, ग्यास र समग्र अर्थतन्त्रमा दबाब बढ्ने आँकलन गरिएको छ।

मध्यपूर्व विश्वको प्रमुख तेल आपूर्ति केन्द्र हो। यही क्षेत्रबाट ठूलो परिमाणमा कच्चा तेल विश्व बजारमा पुग्ने भएकाले यहाँको युद्धले अन्तर्राष्ट्रिय मूल्यमा सीधा असर पारिरहेको छ। यसको प्रभाव नेपालमा भारतमार्फत आयात हुने पेट्रोलियम पदार्थमा पर्ने निश्चितजस्तै देखिएको छ।

पोडकास्ट सुन्नुहोस