कपिलवस्तु-
कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ वर्गदा क्षेत्रमा शनिबार भएको दुई समुदायबीचको झडपपछि लगाइएको निषेधाज्ञालाई प्रशासनले निरन्तरता दिएको छ। आइतबार बसेको सर्वदलीय बैठकले अवस्था क्रमशः सामान्य बन्दै गए पनि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ। सम्भावित अप्रिय घटना दोहोरिन सक्ने जोखिमलाई ध्यानमा राख्दै यो कदम चालिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले स्थिति नियन्त्रणमै रहेको तर पूर्ण रूपमा साम्य भइनसकेकाले तत्काल निषेधाज्ञा नहटाउने जानकारी दिनुभयो। “अवस्था सुधारोन्मुख छ, तर सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ,” घिमिरेले भन्नुभयो। घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ।
हिन्दु र मुस्लिम समुदायबीच शनिबार बिहान सुरु भएको विवादपछि आइतबार बिहान केही स्थानमा स्थानीय युवाहरूले प्रदर्शन गरेका थिए। सर्वदलीय बैठकले यस्ता प्रदर्शन तत्काल रोक्न र दुवै समुदायलाई आपसी सद्भाव कायम राख्दै संयमित रहन विशेष अपिल गरेको छ। शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।













