एजेन्सी-
विश्वलाई युद्धको भुमरीमा धकेल्ने संशय र आशंकाका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनावमा ठूलो राहतको घोषणा गरेका छन्। अमेरिका र इरानबीच सप्ताहान्तमा भएको ‘रचनात्मक’ वार्तापछि ट्रम्पले इरानी ऊर्जा प्लान्टहरूमा गर्ने भनिएको प्रस्तावित आक्रमण तत्कालका लागि ५ दिन स्थगित गरेका हुन्।
सीएनएनका अनुसार, हर्मुज घाँटी खुला गर्ने विषयमा ट्रम्पले दिएको ४८ घण्टे अल्टिमेटम समाप्त हुन लाग्दा दुई देशबीच गोप्य र सकारात्मक संवाद भएको हो। “अमेरिका र इरानबीच विगत दुई दिनदेखि अत्यन्तै रचनात्मक वार्ता भएको छ,” ट्रम्पलाई उद्धृत गर्दै सञ्चार माध्यमहरूले लेखेका छन्, “मध्यपूर्वमा पूर्ण शान्ति स्थापनाका लागि यो वार्ता सुखद रहेको छ।”
आक्रमणको निर्देशन फिर्ता
यसअघि इरानको ऊर्जा पूर्वाधार ध्वस्त पार्ने चेतावनी दिएका ट्रम्पले अहिले युद्ध विभागलाई कम्तीमा ५ दिनसम्म कुनै पनि आक्रमण नगर्न निर्देशन दिएका छन्। इरानले हर्मुज घाँटी बन्द गरेपछि अमेरिकाले कडा सैन्य कदम चाल्ने तयारी गरेको थियो, जुन अहिलेलाई टरेको छ।
विश्व अर्थतन्त्रमा सुधारको संकेत
ट्रम्पको यो घोषणासँगै ओरालो लागेको विश्व सेयर बजार र आकासिएको इन्धनको मूल्यमा नाटकीय सुधार देखिएको छ। बीबीसीका अनुसार:
-
कच्चा तेल (ब्रेन्ट क्रुड): १३ प्रतिशतले घटेर प्रतिब्यारेल ९६ अमेरिकी डलरमा झरेको छ।
-
सेयर बजार: एफटीएसई १०० इन्डेक्स (FTSE 100) मा सुधार देखिएको छ भने ग्यासको मूल्य समेत ओरालो लागेको छ।
मध्यपूर्वमा पूर्ण शान्तिका लागि प्रयास भइरहेको ट्रम्पको टिप्पणीले विश्व समुदायलाई केही राहत दिए पनि ५ दिनपछिको स्थिति कस्तो हुनेछ भन्नेमा अझै अन्योल कायमै छ।













