विराटनगर-
मोरङको सुन्दरहरैंचाबाट सुरु भएको घातक बर्ड फ्लुको संक्रमण छिमेकी जिल्लाहरूमा समेत तीव्र रूपमा फैलिएको छ। मोरङका पाँचवटा फार्म र झापाका दमक तथा झापा बजार क्षेत्रका पोल्ट्री फार्महरूमा पनि संक्रमण पुष्टि भएपछि व्यवसायी र उपभोक्तामा त्रास फैलिएको हो।
आइतबार विराटनगर महानगरपालिका-४ मा रहेको एक फार्ममा संक्रमण पुष्टि भएसँगै प्रभावित क्षेत्रको संख्या बढेको छ। यसअघि मोरङकै उर्लाबारी र कटहरी तथा झापाको दमक-१० र झापा गाउँपालिका-७ मा रहेका फार्महरूमा यो रोग देखिएको थियो। कुखुरा धमाधम मर्न थालेपछि गरिएको नमुना परीक्षणले घातक प्रकृतिको बर्ड फ्लु भएको पुष्टि गरेको हो।
संक्रमण नियन्त्रणका लागि कोशी प्रदेश सरकारको ‘र्यापिड रेस्पोन्स टिम’ प्रभावित क्षेत्रमा खटिएको छ। कृषि मन्त्रालयका अनुसार संक्रमित फार्मका कुखुरा, अण्डा, दाना र प्रयोगमा आएका सम्पूर्ण सामग्रीहरूलाई तत्काल नष्ट (Culling) गर्ने प्रक्रिया अघि बढाइएको छ। टोलीले अहिले जोखिमको अवस्था विश्लेषण गर्दै संक्रमित क्षेत्रको दायरा निर्धारण गर्ने कार्य गरिरहेको छ।













