जनकपुर-
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका-६, मालटोल क्षेत्रमा भएको सवारी दुर्घटनाले एक जनाको ज्यान लिएको छ भने अर्का एक जना घाइते भएका छन्।
ढल्केबरबाट पूर्वतर्फ जाँदै गरेको म.प्र. ०२–००८ प १९८९ नम्बरको पल्सर मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मधेश प्रदेश ०२–००१ च १६७८ नम्बरको महेन्द्रा पिकअपले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार दुर्घटनामा धनुषाधाम-६ निवासी ५५ वर्षीय समीम खान गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। तर, उपचार सुरु हुनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यस्तै, मोटरसाइकलमा सवार जनकपुरधाम उपमहानगरपालिका-४ निवासी विनोद सिंह घाइते भएका छन्। उनको जनकपुरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ, र अवस्था मध्यम रहेको बताइएको छ।
दुर्घटनामा संलग्न पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेशबहादुर बमका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यस दुर्घटनाले पुनः सडक सुरक्षामा लापरवाही कति घातक हुन सक्छ भन्ने तीतो यथार्थ उजागर गरेको छ।













