२०८२ चैत्र १२ गते, बिहीबार ११:००

अमेरिका–इरान तनावको असर नेपालमा: इन्धनको भाउ फेरि उकालो

वीरगन्ज –

मिडिल इस्ट मा चुलिँदै गएको अमेरिका–इरान तनावको प्रत्यक्ष असर अब नेपालमा देखिन थालेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको खुद्रा मूल्य पुनः वृद्धि गरेको छ।

निगमका अनुसार नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू गरिएको हो। समायोजनअनुसार पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले वृद्धि गरिएको छ।

नयाँ दर लागू भएसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ कायम गरिएको छ।

ऊर्जा विज्ञहरूका अनुसार मिडिल इस्ट क्षेत्रमा युद्धको जोखिम बढेसँगै तेल उत्पादन र आपूर्ति मार्गहरूमा अनिश्चितता सिर्जना भएको छ। विशेषगरी हर्मुज जलडमरूमध्य जस्तो महत्वपूर्ण मार्गमा तनाव बढ्दा विश्व बजारमा तेलको मूल्य आकासिन्छ, जसको सीधा असर आयातमा निर्भर नेपालमा पर्ने गर्दछ।

इन्धनको मूल्यवृद्धिले यातायात, उद्योग र दैनिक उपभोग्य वस्तुमा समेत महँगी बढाउने निश्चित देखिएको छ। ढुवानी खर्च महँगिँदा बजारभाउ थप चर्किने संकेत देखिएको छ भने सर्वसाधारणको दैनिक खर्च झनै बढ्ने अवस्था आएको छ।

सरकारका लागि यो अवस्था चुनौतीपूर्ण बन्दै गएको छ। छोटो अवधिमा मूल्य नियन्त्रण कठिन देखिए पनि दीर्घकालीन रूपमा वैकल्पिक ऊर्जा र आन्तरिक उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ।

मिडिल इस्टको युद्ध केवल क्षेत्रीय संकटमा सीमित नरही नेपाली जनजीवनमा प्रत्यक्ष असर पारिरहेको स्पष्ट भएको छ , जहाँ टाढाको युद्धले यहाँको पेट्रोल पम्पसम्मको मूल्य निर्धारण गरिरहेको छ।

पोडकास्ट सुन्नुहोस