२०८२ चैत्र १३ गते, शुक्रबार ०९:१७

मर्यादा पुरुषोत्तम रामको जन्मजयन्ती आज देशभर मनाइँदैछ

वीरगन्ज –

सत्य, अहिंसा र मर्यादाको उज्यालो सन्देश बोकेका भगवान् श्री रामचन्द्र को जन्मजयन्ती पावन रामनवमी आज देशभर श्रद्धा, भक्ति र आस्थाका साथ उल्लासपूर्ण रूपमा मनाइँदैछ।

त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्याका सुपुत्रका रूपमा जन्मिएका श्रीराम केवल एक राजा मात्र होइनन्, उनी सत्यको मार्ग देखाउने आदर्श, अहिंसाको प्रतीक र मर्यादित जीवनशैलीका अनुपम उदाहरण हुन्। विष्णुको सातौँ अवतारका रूपमा मानिने उनको अवतरणले अधर्ममाथि धर्मको विजयको दीप प्रज्वलित गर्‍यो।

चैत्र शुक्ल नवमीको पवित्र क्षणमा पुनर्वसु नक्षत्र र कर्कट लग्नको दुर्लभ योगमा जन्मिएका रामचन्द्रको कुण्डलीमा पाँच ग्रहको विशेष संयोग परेको मानिन्छ, जसले उनलाई असाधारण शक्ति र दिव्यता प्रदान गरेको विश्वास छ। वासन्तीय नवरात्रको नवमीमा जन्मिएका उनले राक्षसी प्रवृत्तिको अन्त्य गर्दै आदर्श “रामराज्य” स्थापना गरे,जहाँ न्याय, अनुशासन र जनकल्याण सर्वोपरि थियो।

धर्मशास्त्रविद्हरूका अनुसार रामनवमी केवल पूजा–अर्चनाको दिन होइन, यो आत्मअनुशासन, सत्यनिष्ठा र मर्यादित शासनको प्रेरणा लिने अवसर पनि हो। रामलाई “मर्यादा पुरुषोत्तम” भनिनुको कारण पनि यही हो,उनको जीवनले हरेक मानवलाई कर्तव्य, त्याग र सत्यको बाटोमा अघि बढ्न प्रेरित गर्छ।

शास्त्रीय मान्यताअनुसार अष्टमीमा अष्टमातृकाको पूजा र नवमीमा रामको आराधना, जप, ध्यान तथा रामायण वाचनले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। आजका दिन विशेषगरी रामजानकी मन्दिरअयोध्या मा भव्य मेला लाग्ने गर्छ, जहाँ हजारौँ भक्तजनहरूको आस्था एकै ठाउँमा संगम हुन्छ।

पवित्र नदी, ताल र कुण्डमा स्नान गर्दै व्रत बस्ने, रामगीता तथा विभिन्न रामायण वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय पाठ गर्ने परम्पराले यो पर्वलाई अझ आध्यात्मिक बनाएको छ। रातभरि गुञ्जिने भजन कीर्तनले वातावरणलाई भक्तिमय बनाउँछ।

धर्मग्रन्थहरूमा उल्लेख भएअनुसार आजका दिन श्रद्धापूर्वक व्रत, जप र पूजा गरेमा पाप नाश भई वैकुण्ठ प्राप्ति हुने विश्वास गरिन्छ। अझ महत्त्वपूर्ण कुरा रामनवमीले हामीलाई असत्य, अन्याय र हिंसामाथि सत्य, न्याय र करुणाको विजय सम्भव छ भन्ने अटल विश्वास दिलाउँछ।

यसरी, रामनवमी केवल एक पर्व नभई मानव जीवनलाई सही दिशा दिने आध्यात्मिक मार्गदर्शक हो,जहाँ भगवान् रामको आदर्शलाई आत्मसात् गर्दै समाजलाई शान्त, मर्यादित र समृद्ध बनाउने प्रेरणा लिइन्छ।

पोडकास्ट सुन्नुहोस