काठमाडौं –
जनतामाझ ‘बालेन’ नामले लोकप्रिय बालेन्द्र शाह आज नेपालको प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।
सांस्कृतिक–सामाजिक अभियानदेखि स्थानीय तहको नेतृत्वसम्मको यात्राबाट उदाएका शाहको राजनीतिक उभार पछिल्ला वर्षहरूमा तीव्र बनेको हो। काठमाडौं महानगरपालिकाको मेयरका रूपमा स्थापित उनको छवि भ्रष्टाचारविरुद्ध कठोर, व्यवस्थापनमा सक्रिय र युवामाझ लोकप्रियले राष्ट्रिय राजनीतिमा नयाँ ऊर्जा थपेको विश्लेषण गरिन्छ।
विशेषगरी पछिल्लो समय देखिएको ‘Gen Z’ पुस्ताको जागरण र वैकल्पिक राजनीतिको खोजीले शाहको उदयलाई थप बल पुर्याएको छ। यही पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तीव्र विस्तार सम्भव भएको हो, जसले परम्परागत दलहरूलाई चुनौती दिँदै जनताको प्रत्यक्ष समर्थन हासिल गरेको छ।
प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले अप्रत्याशित रूपमा स्पष्ट बहुमत नजिकको सफलता हात पार्दै नयाँ राजनीतिक अध्याय सुरु गरेको छ। संसदीय दलको नेतामा चयन भएसँगै शाह प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो, र आजको शपथसँगै त्यो औपचारिक रूपमा साकार हुँदैछ।
संविधानको धारा ७६(१) अनुसार बहुमत प्राप्त दलको नेताका रूपमा उनी एकल सरकार गठन गर्दै छन्। लामो समयदेखि चल्दै आएको गठबन्धन राजनीतिबाट दिक्क बनेका नागरिकका लागि यो परिवर्तनलाई नयाँ आशा र स्थायित्वको संकेतका रूपमा हेरिएको छ।
यसैबीच, प्रधानमन्त्रीसँगै मन्त्री मण्डल विस्तारको तयारी पनि तीव्र पारिएको छ। स्रोतका अनुसार युवामुखी, प्राविधिक दक्षता भएका र विवादरहित अनुहारलाई प्राथमिकता दिँदै समावेशी र सानो तर प्रभावकारी मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको छ।
शपथ ग्रहण समारोहमा विभिन्न दलका शीर्ष नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज र उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ। नयाँ सरकारको सुरुवातसँगै देशमा सुशासन, पारदर्शिता र विकासको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।













