२०८२ चैत्र १३ गते, शुक्रबार १३:०९

वीरगन्ज नाकाबाट खाना पकाउने ग्यास र मट्टी तेलको आयात घट्दो

बि.चौहान /वीरगन्ज –

 नेपालका लागि करिब ७० प्रतिशतभन्दा बढी इन्धन आयात हुने प्रमुख नाका वीरगन्जबाट खाना पकाउने एलपीजी ग्यास र मट्टी तेलको आयातमा कमी आएको छ।

गत आर्थिक वर्षको दोस्रो चौमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा एलपीजी ग्यासको आयात करिब ४ प्रतिशत र मट्टी तेलको आयात ३९ प्रतिशतले घटेको हो।

तथ्यांकअनुसार समीक्षा अवधिमा वीरगन्ज नाकाबाट ७ हजार २ सय २१ मेट्रिक टन एलपीजी ग्यास र १ हजार ९ सय २० किलो लिटर मट्टी तेल कम आयात भएको छ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि फागुनसम्मको आठ महिनामा २४ अर्ब ६ करोड रुपैयाँ मूल्यको २ लाख १० हजार ४२ मेट्रिक टन ग्यास र ४५ करोड रुपैयाँ मूल्यको ५ हजार २० किलो लिटर मट्टी तेल आयात भएको थियो। तर, चालु आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ५४ करोड रुपैयाँ मूल्यको २ लाख २ हजार ८ सय २० मेट्रिक टन ग्यास र २७ करोड रुपैयाँ मूल्यको ३ हजार १ सय किलो लिटर मट्टी तेल मात्र आयात भएको छ।

मध्यपूर्वका खाडी देशहरूमा जारी अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण इन्धन आपूर्तिमा अनिश्चितता बढिरहेका बेला वीरगन्ज नाकाबाट ग्यास र मट्टी तेलको आयात घट्नु अर्थपूर्ण रूपमा हेरिएको छ।

यद्यपि, ग्यास र मट्टी तेलको आयात घटे पनि डिजेल, पेट्रोल र हवाई इन्धनको आयात भने बढेको छ। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार समीक्षा अवधिमा डिजेलको आयात करिब ३ प्रतिशत, पेट्रोलको १२ प्रतिशत र हवाई इन्धनको आयात करिब ६ प्रतिशतले वृद्धि भएको छ।

गत आर्थिक वर्षको आठ महिनामा २५ अर्ब ३० करोड रुपैयाँ मूल्यको ६ लाख ८६ हजार ५ सय ५१ किलो लिटर डिजेल, २५ अर्ब ३० करोड रुपैयाँ मूल्यको २ लाख ९० हजार ३ सय ८२ किलो लिटर पेट्रोल र १० अर्ब ९३ करोड रुपैयाँ मूल्यको १ लाख १९ हजार ९ सय ६३ किलो लिटर हवाई इन्धन आयात भएको थियो।

चालु आर्थिक वर्षमा भने वीरगन्ज नाकाबाट ६३ अर्ब ६५ करोड रुपैयाँ मूल्यको ७ लाख २ हजार ३ सय किलो लिटर डिजेल, २७ अर्ब ५५ करोड रुपैयाँ मूल्यको ३ लाख २५ हजार ६ सय २७ किलो लिटर पेट्रोल र ११ अर्ब ६६ करोड रुपैयाँ मूल्यको १ लाख २६ हजार ७ सय ४७ किलो लिटर हवाई इन्धन आयात भएको छ।

सूचना अधिकारी विष्टका अनुसार समीक्षा अवधिमा डिजेल १५ हजार ७ सय ४९ किलो लिटर, पेट्रोल ३५ हजार २ सय ४५ किलो लिटर र हवाई इन्धन ६ हजार ७ सय ८३ किलो लिटर बढी आयात भएको छ।

मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण आपूर्ति चुनौती देखिए पनि वीरगन्ज नाका हुँदै डिजेल, पेट्रोल, मट्टी तेल र खाना पकाउने ग्यासको आयात निरन्तर भइरहेको उनले बताए।

देशको प्रमुख व्यापारिक नाका तथा मुख्य प्रवेशद्वारका रूपमा रहेको वीरगन्जबाट नेपालमा ७० प्रतिशतभन्दा बढी इन्धन, ६० प्रतिशतभन्दा बढी खाद्य पदार्थ र करिब ७० प्रतिशत औद्योगिक कच्चा पदार्थ आयात हुने गरेको छ।

पोडकास्ट सुन्नुहोस