२०८२ चैत्र १३ गते, शुक्रबार १४:२१

वीरगन्जदेखि केदारनाथसम्मको १४ सय किमि साइकल यात्रा: हिन्दु राष्ट्रको संकल्प बोकेर हिँडे यश सराफ

वीरगन्ज –

नेपाल-भारत सम्बन्ध विस्तार, सनातन हिन्दु धर्मको प्रचार र नेपाललाई हिन्दु राष्ट्र बनाउने महाअभियानका साथ वीरगन्जका एक युवाले भारतको उत्तराखण्डस्थित केदारनाथसम्मको साइकल यात्रा सुरु गरेका छन्।

वीरगन्ज महानगरपालिका-३ छपकैया निवासी यश सराफलाई शुक्रबार बिहान नेपाल-भारत सीमास्थित मितेरी पुलबाट भव्य बिदाइ गरियो। विश्व हिन्दु परिषद् नेपालका वीरगन्ज महानगर प्रमुख ज्योति रुङ्गटा, उपाध्यक्ष अमित टिवडेवाल, सेवा प्रमुख अनुज गुप्ता, सोनु गुप्ता र बन्दना शर्मा लगायतले खादा र माला लगाई उनलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन्।

साइकल यात्री सराफका अनुसार यो यात्रा करिब १ महिनाको हुनेछ, जसमा उनले करिब १४ सय किलोमिटरको दूरी पार गर्नेछन्। यश हिन्दु परिषद् नेपाल, वीरगन्जका ‘गौ रक्षा प्रमुख’ समेत हुन्। उनले आफ्नो यात्राका क्रममा आइपर्ने आपतकालीन व्यवस्थापनका लागि भारतीय विभिन्न संघ-संस्थाहरूसँग समन्वय गरिएको जानकारी दिएका छन्।

धार्मिक पर्यटनको प्रवर्द्धन र दुई देशबीचको रोटी-बेटीको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले गरिएको यो साहसिक यात्राको वीरगन्जबासीले प्रशंसा गरेका छन्।

पोडकास्ट सुन्नुहोस