काठमाडौं –
रसुवाको लाङटाङ हिमाली क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएपछि उद्धार तथा खोजी अभियान तीव्र बनाइएको छ। हेलिकप्टरमा पाइलटसहित ५ जना सवार रहेको पुष्टि भएको छ । मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनन लामिछानेका अनुसार हेलिकप्टर उडानपछि निर्धारित समयमा सम्पर्कमा नआएपछि खोजी सुरु गरिएको हो। उनले भने, “हेलिकप्टरमा पाइलटसहित ५ जना हुनुहुन्थ्यो। तर अहिले कुनै पनि माध्यमबाट सम्पर्क हुन सकेको छैन।”
दुर्गम र उच्च हिमाली भू-भाग भएकाले टेलिफोन तथा सञ्चार सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको कारण अवस्थाबारे यकिन विवरण आउन नसकेको कम्पनीले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर दिउँसो करिब १:३० बजेदेखि सम्पर्कविहीन भएको हो।
उता रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले घटनाबारे सुरक्षा निकायसँग समन्वय भइरहेको जानकारी दिए। उनका अनुसार नेपाली सेना र नेपाल प्रहरीको टोलीबाट सम्भावित क्षेत्रमा खोजी कार्य अघि बढाइएको छ।
“माथिल्लो हिमाली क्षेत्रमा रहेका सुरक्षा निकायसँग समन्वय भइरहेको छ, तर अहिलेसम्म ठोस सूचना प्राप्त भएको छैन,” उनले बताए।
घटना सार्वजनिक भएसँगै सम्भावित दुर्घटनाको आशंकामा परिवारजन र सम्बन्धित निकायमा चिन्ता बढेको छ भने खोज तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।













