२०८२ चैत्र १४ गते, शनिबार ११:५०

वीरगन्जमा ‘महाआरती’को अलौकिक दृश्य: गहवामाई मन्दिरमा उर्लियो जनसागर, भक्ति र सेवाको नयाँ आयाम

वीरगन्ज-

वीरगन्जको ऐतिहासिक एवं धार्मिक धरोहर श्री गहवामाई मन्दिर परिसरमा शुक्रबार साँझ भव्य ‘महाआरती एवं सांस्कृतिक सन्ध्या २०८२’ सम्पन्न भएको छ। श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा भएको उक्त अनुष्ठानमा हजारौँ श्रद्धालु भक्तजनहरूको उत्साहजनक सहभागिताले वीरगन्जको धार्मिक पर्यटन र सामाजिक सद्भावमा नयाँ इँटा थपेको छ।

आध्यात्मिक समुद्घाटन र शास्त्रीय महिमा

कार्यक्रमको आध्यात्मिक समुद्घाटन प्रख्यात ज्योतिष सम्राट डा. पुरुषोत्तम दुबेको नेतृत्वमा विद्वान ब्राह्मण टोलीद्वारा दीप प्रज्वलन गरी गरिएको थियो। पण्डितहरू दिनेश तिवारी, विद्याधर झा, शत्रुघ्न वैष्णव र विवेकजीले मंगलमय स्वस्तिवाचन र गणपति स्तोत्र पाठ गरी वातावरणलाई आध्यात्मिक ऊर्जाले भर्नुभएको थियो। सो अवसरमा डा. दुबेले महाआरतीको शास्त्रीय एवं ज्योतिषीय महत्वमाथि प्रकाश पार्दै यसले नगरको कल्याण र शान्तिमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

विशिष्ट व्यक्तित्वहरूको उपस्थिति

समितिका अध्यक्ष श्याम कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी (CDO) भोला दाहाल मुख्य यजमानको रूपमा रहनुभएको थियो। त्यस्तै, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको विशिष्ट अतिथिको रूपमा गरिमामय उपस्थिति रहेको थियो।

संकल्पदेखि मानवीय सेवासम्म

समितिका सचिव लक्ष्मी नारायण गुप्ता (पप्पु गुप्ता) ले समितिको ऐतिहासिक पृष्ठभूमिबारे प्रकाश पार्दै भन्नुभयो-“२०७९ सालमा श्री देवानन्द कलवार र म आफैँले लिएको एउटा सानो संकल्पले आज विशाल रूप लिएको छ।” समितिले धार्मिक अनुष्ठानका साथै महाभण्डारा, छपन्न भोग, भव्य रक्तदान र निःशुल्क आँखा शिविर जस्ता मानवीय कार्यहरू निरन्तर गर्दै आएको उहाँले जानकारी दिनुभयो।

सांस्कृतिक आकर्षण र यजमानहरू

महाआरतीमा १० दीपशिखाका साथ विभिन्न प्रतिष्ठित व्यवसायी एवं समाजसेवीहरूले धर्मपत्नीसहित आरती अर्पण गर्नुभएको थियो। कार्यक्रममा प्रस्तुत गरिएको ‘राम ललाको झाँकी’, नारायणी डान्स एकेडेमीको नृत्य र ‘महिषासुरमर्दिनी’ को अलौकिक प्रस्तुतिले उपस्थित हजारौँ दर्शकलाई मन्त्रमुग्ध पारेको थियो।

धन्यवाद ज्ञापन र कार्यसमिति

कार्यक्रमका संयोजक मुकेश प्रसाद साहले कार्यक्रम सफल बनाउन सहयोग गर्ने मुख्य स्पन्सर सेरा टयल्स तथा जय नेपाल सेनेटरी, सुरक्षा निकाय, सञ्चारकर्मी र स्वयंसेवकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रम सफल पार्न उपाध्यक्ष देवानन्द प्रसाद कलवार, कोषाध्यक्ष रविशंकर अग्रवाल लगायत कार्यसमितिका सदस्यहरू र महिला नेतृत्वको सक्रिय भूमिका रहेको थियो।

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस