काठमाडौँ-
सरकारले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बिहान पक्राउ गरेको छ। ‘जेनजी आन्दोलन’ का क्रममा भएका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयलगत्तै प्रहरीले ओलीलाई उहाँकै निवासबाट नियन्त्रणमा लिएको हो।
अध्यक्ष ओली पक्राउ परेको खबर सार्वजनिक हुनासाथ एमाले कार्यकर्ताहरू स्वःस्फूर्त रूपमा सडकमा उत्रिएका छन्। काठमाडौँको चाबहिल, कोटेश्वर र कलङ्की क्षेत्रमा भेला भएका कार्यकर्ताहरूले सरकारको कदमलाई ‘राजनीतिक प्रतिशोध’ को पराकाष्ठा भन्दै चर्को नाराबाजी गरेका छन्। प्रदर्शनकारीहरूले “प्रतिशोधपूर्ण राजनीति बन्द गर”, “बालेन सरकार मुर्दावाद” र “हाम्रो नेता रिहा गर” जस्ता नारा लगाउँदै सडक अवरुद्ध गरेका छन्।
ओली पक्राउ परेपछि ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमाले सचिवालयको आकस्मिक बैठक बसिरहेको छ। बैठकले सरकारको यस कदमको कडा प्रतिवाद गर्ने र देशभर आन्दोलनलाई थप सशक्त बनाउने रणनीति तय गर्ने बताइएको छ। एमालेका शीर्ष नेताहरूले शान्तिपूर्ण राजनीतिलाई सरकारले मुठभेडतर्फ धकेलेको आरोप लगाएका छन्।
ओलीको पक्राउ र त्यसपछि उत्पन्न हुन सक्ने सम्भावित मुठभेडलाई मध्यनजर गर्दै गृह मन्त्रालयले उपत्यकासहित देशभरको सुरक्षा व्यवस्था कडा पारेको छ। सिंहदरबार, बालुवाटार र मुख्य प्रशासनिक केन्द्रहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। प्रहरीले प्रदर्शनकारीलाई संयमित रहन आग्रह गरे पनि कतिपय स्थानमा सामान्य झडपका स्थिति सिर्जना भएका छन्।
सरकारले भने आयोगको प्रतिवेदनले दोषी ठहऱ्याएका जोकोहीलाई पनि कानुनी दायरामा ल्याइने र यो कुनै व्यक्ति विशेष लक्षित नभई विधिको शासन स्थापना गर्ने प्रयास भएको दाबी गरेको छ।













