२०८२ चैत्र १४ गते, शनिबार १२:४६

नेकपा नेता मनोज चौधरी कारागार चलान: विस्फोटक पदार्थ मुद्दामा जिल्ला अदालत पर्साको आदेश, ३ जनालाई धरौटी

वीरगन्ज-

पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य मनोज चौधरीलाई जिल्ला अदालत पर्साले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। ४६ वर्षीय चौधरीको गाडीबाट विस्फोटक पदार्थजस्तो देखिने ‘शंकास्पद वस्तु’ फेला परेको मुद्दामा अदालतले बिहीबार यस्तो कठोर निर्णय सुनाएको हो।

जिल्ला अदालत पर्साका न्यायाधीश कमलकान्त जोशीको इजलासले थुनछेक बहसपछि चौधरीलाई कारागार चलान गर्न आदेश दिएको छ। उनीसँगै पक्राउ परेका अन्य तीन जनालाई भने धरौटी तोकिएको छ। अदालतले ६७ वर्षीय सत्यनारायण दास थारू र ३० वर्षीय सुरज कार्कीलाई जनही १ लाख ५० हजार तथा सवारी चालक सहाब आलम अन्सारीलाई २ लाख रुपैयाँ धरौटी तोकेको छ। यद्यपि, धरौटी रकम बुझाउन नसकेपछि थारू र अन्सारी पनि हाल थुनामै रहेका छन्।

के थियो घटना?

गत फागुन १९ गते बा १० च १२५० नम्बरको कार चेकजाँचका क्रममा प्रहरीले विस्फोटक पदार्थ जस्तो देखिने वस्तु फेला पारेको दाबी गर्दै चौधरीसहित चार जनालाई नियन्त्रणमा लिएको थियो। सरकारी वकिलको कार्यालयले चैत ११ गते उनीहरूविरुद्ध विस्फोटक पदार्थ तथा निर्वाचन सम्बन्धी कसुरमा अभियोगपत्र दायर गरेको थियो।

प्रतिवादीको तर्क: ‘प्रमाणविहीन र सुनियोजित’

थुनछेक बहसका क्रममा प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुधीर कर्ण र अधिवक्ता चन्द्रिका पटेलले प्रहरी अनुसन्धानमा ठोस प्रमाण नदेखिएको जिकिर गर्नुभएको थियो। २४ दिनसम्मको अनुसन्धानमा पनि उक्त वस्तु कसले र किन राख्यो भन्ने नखुलेको भन्दै यो घटना ‘सुनियोजित’ हुनसक्ने आशंका व्यक्त गरिएको थियो। वरिष्ठ अधिवक्ता कर्णले चौधरी पक्राउ परेको स्थानमा मतदान केन्द्र वा मतगणना स्थल नभएकाले निर्वाचन कसुर लागू नहुने तर्क समेत राख्नुभएको थियो।

मुद्दाको गम्भीरता र शंकास्पद वस्तुको प्रकृतिलाई मध्यनजर गर्दै अदालतले चौधरीलाई पुर्पक्षका लागि थुनामा राखेरै कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। यस फैसलासँगै राजनीतिक वृत्तमा सुरक्षा र अनुसन्धानको पारदर्शीताबारे नयाँ बहस सुरु भएको छ।

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस