२०८२ चैत्र १४ गते, शनिबार १२:४५

ओली पक्राउपछि एमाले आक्रामक: देशव्यापी प्रदर्शनदेखि दलहरूसँग सहकार्यसम्म चार ठूला निर्णय

काठमाडौँ –

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि तुरुन्तै आक्रामक रणनीति सार्वजनिक गरेको छ। शनिबार बसेको सचिवालय बैठकले ओलीको तत्काल रिहाइको माग गर्दै देशव्यापी आन्दोलनको संकेत दिने चार महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको हो।

बैठकपछि नेता महेश बस्नेत ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टी अब कानुनी र राजनीतिक दुवै मोर्चामा सशक्त रूपमा उत्रिने बताएका छन्। एमालेले यसलाई लोकतन्त्र र कानुनी राज्यमाथिको चुनौतीको रूपमा व्याख्या गर्दै आन्दोलनको स्पष्ट खाका अघि सारेको छ।

 एमालेका चार निर्णायक कदम

१. सशक्त प्रतिवादको घोषणा
एमालेले आम जनसमुदाय र नागरिक समाजसँग मिलेर कानुनी तथा राजनीतिक रूपमा कडा प्रतिवाद गर्ने निर्णय गरेको छ।

२. आजै देशव्यापी प्रदर्शन
आज अपराह्न ३ बजे देशभरका जिल्लाका सदरमुकाममा जनसंगठनको नेतृत्वमा विरोध प्रदर्शन गरिनेछ।

३. भोलि थप दबाब कार्यक्रम
भोलि चैत १५ गते १२ बजे प्रत्येक जिल्लामा पार्टी कमिटीको आयोजनामा विशाल प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी  कार्यालयमा विरोधपत्र बुझाइनेछ।

४. दल-समाजसँग सहकार्य विस्तार
लोकतन्त्र र कानुनी राज्यका पक्षधर अन्य राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणसँग सहकार्य र संवादलाई तीव्र बनाउने निर्णय गरिएको छ।

एमालेको यो निर्णयसँगै राजनीतिक माहोल थप तातिने संकेत देखिएको छ। ओली पक्राउ प्रकरणले अब सडकदेखि सदनसम्मै शक्ति प्रदर्शनको नयाँ अध्याय सुरु गर्ने सम्भावना देखिएको छ।

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस