वीरगन्ज-
उज्यालो नेपाल पार्टीको मधेश प्रदेश अध्यक्षमा रामकिशोर सिंह (पराग) सर्वसम्मत रूपमा मनोनित हुनुभएको छ। मधेशको राजधानी जनकपुरधाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बीच सिंहलाई सो जिम्मेवारी प्रदान गरिएको हो।
पार्टीका राष्ट्रिय अध्यक्ष कुलमान घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमले सिंहलाई प्रदेशको कमान्ड सम्हाल्ने गरी सर्वसम्मत चयन गरेको हो। नवनियुक्त अध्यक्ष सिंह यसअघि सम्पन्न निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएको थियो।
मनोनयनपछि बोल्दै पार्टीका नेताहरूले सिंहको कुशल नेतृत्वमा मधेश प्रदेशमा संगठन विस्तारले गति लिने र पार्टी थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। “परागजीको राजनीतिक सक्रियता र उर्जाले मधेशका जनताका मुद्दाहरूलाई सशक्त रूपमा उठाउन र पार्टीलाई जनस्तरसम्म पुर्याउन ठूलो मद्दत पुग्नेछ,” कार्यक्रममा सहभागी एक नेताले बताए।
नयाँ जिम्मेवारी पाएपछि सिंहले पार्टीको नीति र सिद्धान्तअनुसार प्रदेशका आठवटै जिल्लामा संगठनलाई मजबुत बनाउने र जनताका समस्या समाधानमा केन्द्रित रहने प्रतिबद्धता जनाउनुभएको छ। कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।













