२०८२ चैत्र १५ गते, आईतवार १२:४९

साउदी एयरबेसमा इरानको आक्रमण १५ अमेरिकी सैनिक घाइते

काठमाडौं-

इजरायल र अमेरिकाबाट सुरु भएको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा साउदी अरेबियास्थित एक एयरबेसमा इरानले गरेको आक्रमणमा कम्तीमा १५ जना अमेरिकी सैनिक घाइते भएका छन्।

शुक्रबार प्रिन्स सुल्तान एयर बेसमा गरिएको आक्रमणमा कम्तीमा ६ वटा ब्यालिस्टिक मिसाइल र २९ वटा ड्रोन प्रयोग गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। आक्रमण हुँदा सैनिकहरू बेसभित्रको एक भवनमा रहेका थिए।

अमेरिकी एक अधिकारीका अनुसार कम्तीमा १२ जना सैनिक घाइते भएका छन्, जसमा दुई जनाको अवस्था गम्भीर छ।

इरानको केन्द्रीय सैन्य मुख्यालयका प्रवक्ता इब्राहिम जोल्फाघारीले भिडियो सन्देशमार्फत उक्त आक्रमणमा एउटा इन्धन भर्ने विमान पूर्ण रूपमा ध्वस्त भएको र अन्य तीन वटा विमान क्षतिग्रस्त भई प्रयोगबाहिर पुगेको दाबी गरेका छन्।

इरानको अंग्रेजी भाषाको समाचार च्यानल प्रेस टिभीले सार्वजनिक गरेको स्याटेलाइट तस्वीरहरूमा एयरबेसमा रहेका केही विमानहरू ध्वस्त भएको देखाइएको छ। यसअघि पनि यसै साता दुई पटक सो एयरबेसमा आक्रमण भएको थियो, जसमा १४ जना अमेरिकी सैनिक घाइते भएका थिए।

साउदी अरेबियाको राजधानी रियादबाट करिब ९६ किलोमिटर टाढा रहेको उक्त एयरबेस साउदी वायुसेनाले सञ्चालन गरे पनि अमेरिकी सेनाले पनि प्रयोग गर्दै आएको छ।

इरानले खाडी क्षेत्रका देशहरूलाई अमेरिकाको आक्रमणका लागि आधारस्थल बनाएको आरोप लगाउँदै लगातार प्रतिकारात्मक आक्रमण गर्दै आएको छ। अमेरिका र इजरायलले फेब्रुअरी २८ मा संयुक्त रूपमा इरानमाथि आक्रमण सुरु गरेका थिए।

यसैबीच, शुक्रबार राति अमेरिका–इजरायलले इरानमाथि गरेको पछिल्लो आक्रमणमध्ये एउटा बुस्हेहर आणविक ऊर्जा केन्द्रलाई लक्षित गरेको बताइएको छ। तर इरानको आणविक ऊर्जा संगठनका अनुसार उक्त आक्रमणबाट कुनै भौतिक क्षति वा मानवीय हताहती भएको छैन, र प्राविधिक रूपमा पनि कुनै अवरोध आएको छैन।(अलजजिरा)

पोडकास्ट सुन्नुहोस