२०८२ चैत्र १५ गते, आईतवार १२:५१

कार्की आयोगको प्रतिवेदन कार्यन्वयनका लागि प्रहरी परिस काठमाण्डौमा

काठमाडौं-

जेनजी आन्दोलनको रक्तरञ्जित घटनाको छानबिन प्रतिवेदन अब कार्यान्वयनको निर्णायक चरणमा प्रवेश गरेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौंमा औपचारिक रूपमा पुगेसँगै अब कारबाही प्रक्रिया तीव्र हुने संकेत देखिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सुरु भएको प्रतिवेदनको यात्रा गृहमन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालय, त्यसपछि उपत्यका प्रहरी कार्यालय रानिपोखरी पार गर्दै अन्ततः कार्यान्वयनको ‘ग्राउन्ड जिरो’,परिसर काठमाडौंमा आइपुगेको हो।

परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले प्रतिवेदन प्राप्त भएको पुष्टि गर्दै अब कार्यान्वयन चरणमा प्रवेश गरिने स्पष्ट पारे। “प्रतिवेदन हामीकहाँ आइपुगेको छ, अब त्यसअनुसार प्रक्रिया अघि बढ्छ,” उनले भने।

यसैबीच, प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयसँगै शनिबार बिहानै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्। उच्च राजनीतिक तहमा सुरु भएको यो कारबाहीले अब सुरक्षा संयन्त्रका अन्य जिम्मेवार अधिकारीहरूसम्म विस्तार हुने संकेत दिएको छ।

कार्की आयोगले जेनजी आन्दोलनका क्रममा भएको हिंसा र हत्याकाण्डमा संलग्नताको आधारमा ओली र लेखकलाई ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न सिफारिस गरेको थियो। अन्य सुरक्षा निकायका अधिकारीहरूको हकमा भने थप अनुसन्धानपछि मात्रै कदम चालिने बताइएको छ।

राजनीतिक शक्ति केन्द्रदेखि सुरक्षा संरचनासम्म हलचल ल्याएको यो प्रतिवेदनले अब कसलाई तान्छ र कस्तो मोड लिन्छ,सबैको नजर त्यसतर्फ केन्द्रित छ।

पोडकास्ट सुन्नुहोस