काठमाडौँ-
नेकपा (एमाले) का सचिव महेश बस्नेतविरुद्ध उजुरी दिन शोभा पाठक आइतबार सरकारी वकिलको कार्यालय पुगेकी छिन्। काठमाडौँ प्रहरी परिसरबाट उनी सिधै सरकारी वकिलको कार्यालय पुगेकी हुन्।
पाठकले नेता बस्नेतलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गर्दै परिसरमा निवेदन समेत दिएकी छिन्। उनले लामो समयदेखि बस्नेतमाथि जबरजस्ती करणी (बलात्कार), भ्रूण हत्या र अन्य गम्भीर प्रकृतिका आरोपहरू लगाउँदै आएकी छिन्।
यसअघि पनि पाठकले बस्नेतविरुद्ध जाहेरी दर्ता गराएकी थिइन्। उच्च अदालतले सो मुद्दा अघि बढाउन आदेश दिएको भए तापनि सरकारी वकिलको कार्यालयले प्रक्रिया अगाडि नबढाएकोमा उनले कडा गुनासो व्यक्त गरेकी छिन्। “अदालतको आदेश हुँदा समेत मुद्दा प्रक्रियामा ढिलाइ गरिनु अन्यायपूर्ण छ,” उनले भनिन्।
लामो समयदेखि चर्चामा रहेको यो प्रकरणले पाठकको पछिल्लो सक्रियतासँगै फेरि नयाँ मोड लिएको छ। प्रहरी र सरकारी वकिलको कार्यालयले अब यस विषयमा कस्तो कदम चाल्छ भन्ने कुरालाई चासोका साथ हेरिएको छ।













