काठमाडौँ-
काठमाडौँ जिल्ला अदालतले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक र पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। ‘जेनजी’ आन्दोलन र सम्पत्ति शुद्धीकरणसम्बन्धी फरक-फरक प्रकरणमा अनुसन्धानका लागि उनीहरूलाई म्याद थप गरिएको हो।
ओली र लेखकलाई ५ दिनको म्याद
जिल्ला अदालत काठमाडौँका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। सरकारी वकिलको कार्यालयले १० दिनको समय माग गरे पनि अदालतले ५ दिनको म्याद दिएको हो।
शनिबार पक्राउ परेपछि स्वास्थ्यमा समस्या देखिएका कारण ओली महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ। त्यसैले उहाँलाई भिडियो कन्फरेन्स मार्फत अदालतमा उपस्थित गराइएको थियो भने नेता लेखक आफैँ इजलासमा उपस्थित हुनुभएको थियो। भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा भएको क्षति र लापरवाहीबारे गठित कार्की आयोगको प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
दीपक खड्कालाई ७ दिनको म्याद
त्यसै गरी, आइतबार बिहान बुढानीलकण्ठबाट पक्राउ परेका पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई नियन्त्रणमा लिएको हो।
खड्कामाथि ‘जेनजी’ आन्दोलनका बेला घरमा ठुलो परिमाणमा स्रोत नखुलेको शङ्कास्पद नगद सञ्चित गरेको आरोप छ। विभागले खड्काको बैंक खाता, घरजग्गा र अन्य लगानीका स्रोतहरूमाथि सुक्ष्म छानबिन सुरु गरेको छ।
राजनीतिक वृत्तमा तरङ्ग
देशका शीर्ष नेताहरू र पूर्वमन्त्रीहरू एकै पटक कानुनी घेरामा परेपछि नेपाली राजनीतिमा ठुलो तरङ्ग पैदा भएको छ। प्रहरीले अनुसन्धानका क्रममा थप तथ्यहरू फेला पर्न सक्ने र कानुन बमोजिम प्रक्रिया अगाडि बढ्ने जनाएको छ।













