२०८२ चैत्र १६ गते, सोमबार १०:०१

गैंडाकोटमा भीषण ठक्कर: बस, ट्रक र हात्तीगाडी एकैपटक जुध्दा बिहानै सडकमा त्रास

नवलपुर –

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–९, हनुमान मन्दिर नजिक सोमबार बिहानै एक डरलाग्दो सवारी दुर्घटना भएको छ। तीनवटा सवारी एकै ठाउँमा ठोक्किँदा केहीबेर क्षेत्र तनावग्रस्त बनेको थियो।

बिहान करिब ६:४५ बजे नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको लुम्बिनी प्रदेशको बसले गैंडाकोटबाट भेंडाबारीतर्फ जाँदै गरेको हात्तीगाडी र सोही दिशामा अघि बढिरहेको ट्रकलाई एकैपटक ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटना भयावह देखिए पनि सुखद पक्ष के भने,मानवीय क्षति भने टरेको छ। तर, तीनै सवारीका चालकसहित ८\९ जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितका अनुसार ट्रक चालक रामेछापका ३२ वर्षीय इन्द्र तामाङ, बस चालक बाँकेका ४१ वर्षीय मोहनसिंह बलामी मगर र हात्तीगाडी चालक चितवनका ३३ वर्षीय दर्शन काप्री घाइते भएका छन्। काप्रीको छात्तीमा चोट लागेको छ भने बस र ट्रक चालकको दुवै खुट्टामा चोट लागेको छ। तीनै जनाको अवस्था मध्यम रहेको जनाइएको छ।

बसमा सवार अन्य यात्रुहरू पनि सामान्य घाइते भएका छन्। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि तीनवटै सवारी साधन सडक किनारमा थन्किएका छन्। यद्यपि, राजमार्गमा यातायात आवागमन भने अवरुद्ध नभएको प्रहरीले स्पष्ट पारेको छ।

स्थानीयले भने बिहानै भएको यस्तो दुर्घटनाले केहीबेर क्षेत्र नै स्तब्ध बनेको बताएका छन्।

पोडकास्ट सुन्नुहोस