काठमाडौँ –
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन अब दिनौं कुर्नुपर्ने झन्झट अन्त्य भएको छ। सरकारले सेवा प्रणालीमै आमूल परिवर्तन गर्दै आवेदन दिएको दिनमै श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्था लागू गरेको छ।
यसअघि सीमित टोकनका आधारमा मात्रै सेवा पाइने झन्झटिलो प्रक्रिया हटाइएको छ। अब भने आवश्यक कागजात पूरा गरी आवेदन दिएपछि सेवाग्राहीले सोही दिन श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दुवै प्राप्त गर्न सक्नेछन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनपछि वैदेशिक रोजगार विभागले यो नयाँ प्रणाली कार्यान्वयनमा ल्याएको हो।
यो सुधारसँगै लामो लाइन, अनावश्यक प्रतीक्षा र दलालको प्रभाव घट्ने अपेक्षा गरिएको छ। सेवाग्राहीको समय बचत हुनुका साथै प्रक्रिया थप सरल, छरितो र पारदर्शी बन्ने विश्वास गरिएको छ।
आइतबार मन्त्री दीपक कुमार साहको उपस्थितिमा भएको उच्चस्तरीय छलफलले श्रम प्रशासनलाई आधुनिक र प्रभावकारी बनाउने निर्णय गरेको थियो। उक्त बैठकमा सरकारले अघि सारेको शासकीय सुधार कार्यसूचीलाई तीव्र रूपमा लागू गर्ने विषयमा समेत गहन विमर्श भएको थियो।
मन्त्रालयले अब श्रम क्षेत्रलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउँदै श्रमिकको अधिकार संरक्षणलाई केन्द्रमा राखेर थप सुधार कार्यक्रम अघि बढाउने स्पष्ट संकेत दिएको छ।














