काठमाडौँ –
पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटी पर्सा र वीरगञ्ज क्षेत्रका विभिन्न गम्भीर समस्याहरूका बारेमा ध्यानाकर्षण गराउनुभएको छ। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा मधेस प्रदेशका सांसदहरू र प्रधानमन्त्रीबीच भएको भेटघाटका क्रममा सांसद पन्तले वीरगञ्जको वातावरण, कृषि, र सुशासनसँग जोडिएका प्रश्नहरू उठाउनुभएको हो।
१. सिर्सिया नदी प्रदूषण नियन्त्रण
सांसद पन्तले वीरगञ्जको लाइफलाइन मानिने सिर्सिया नदी अत्यधिक प्रदूषित भएको भन्दै यसलाई सफा गर्न ‘अधिकार सम्पन्न समिति’ गठन गर्न माग गर्नुभयो। सरकारले निश्चित समयसीमा तोकेर नदीको प्रदूषण हटाउन ठोस कदम चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो।
२. किसानलाई मलखादको उपलब्धता
खेतीको समयमा जहिले पनि मलको अभाव हुने गरेको उल्लेख गर्दै पन्तले किसानलाई आवश्यक परेको समयमा चाहिएको जति मल सरकारले कुनै पनि हालतमा उपलब्ध गराउनुपर्ने बताउनुभयो।
३. क्यासिनोमा नेपालीलाई अवैध प्रवेश र प्रहरीको मौनता
वीरगञ्जका क्यासिनोहरूले नेपाली नागरिकलाई अवैध रूपमा प्रवेश गराई धेरै स्थानीयको बिचल्ली बनाएको आरोप सांसद पन्तले लगाउनुभयो। यस्तो अवैध कार्य भइरहँदा पनि स्थानीय प्रहरी र प्रशासन मूकदर्शक बनेर बसेको भन्दै उहाँले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।
४. महानगरको ‘अवैध असुली’ र प्रशासनिक लाचारी
वीरगञ्ज महानगरपालिकाले ठाउँ–ठाउँमा ढाट राखेर गरिरहेको अवैध असुलीका विषयमा पनि सांसद पन्तले प्रश्न उठाउनुभयो। यो विषयमा कुरा गर्दा प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुख (एसपी) ले एकअर्कालाई देखाएर पन्छिने गरेको गुनासो उहाँले प्रधानमन्त्रीसमक्ष राख्नुभयो।
प्रधानमन्त्रीको आश्वासन
सांसद पन्तका कुरा सुनिसकेपछि प्रधानमन्त्री बालेन्द्र शाहले तत्कालै प्रहरी महानिरीक्षक (IGP) र गृहसचिवलाई बोलाएर निर्देशन दिने प्रतिबद्धता जनाउनुभयो। जनप्रतिनिधिले उठाएका जायज मागहरू जिल्लाका सुरक्षा प्रमुख र प्रशासनिक प्रमुखले सुन्नैपर्ने बताउँदै प्रधानमन्त्रीले यसमा सरकार गम्भीर रहने स्पष्ट पार्नुभयो।
भेटघाटमा श्रम मन्त्री दीपक साह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह तथा मधेस प्रदेशका अन्य सांसदहरूको समेत उपस्थिति रहेको थियो।













