२०८२ चैत्र १८ गते, बुधबार १८:०८

धार्मिक सम्पदा संरक्षणमा जनप्रतिनिधिलाई जिम्मेवार बनाउँदै हिन्दु पत्रकार संघ नेपाल

वीरगन्ज-

वीरगन्जको ऐतिहासिक माईस्थानमा हिन्दु पत्रकार संघ नेपालको केन्द्रीय समितिको विशेष बैठक बुधबार सम्पन्न भएको छ। संघका केन्द्रीय अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले धार्मिक सम्पदाको संरक्षण तथा आगामी हनुमान जयन्तीलाई भव्य रूपमा मनाउने विषयमा विभिन्न रणनीतिक निर्णयहरू गरेको छ।

बैठकले पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रका नवनिर्वाचित सांसदहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। संघका सचिव राज सराफका अनुसार उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रमा रहेका ऐतिहासिक मठ–मन्दिर, धर्मशाला तथा अन्य धार्मिक स्थलहरूको वर्तमान अवस्था, संरक्षणमा जनप्रतिनिधिको भूमिका र आगामी योजनाबारे विस्तृत छलफल गरिनेछ।

त्यसैगरी, आसन्न हनुमान जयन्तीलाई वीरगन्जमा ‘जनउत्सव’का रूपमा मनाउने लक्ष्यसहित व्यापक प्रचार–प्रसार अभियान सञ्चालन गरिने निर्णय गरिएको छ। अध्यक्ष रौनियारले हिन्दुवादी संघ–संस्था तथा धार्मिक स्थलका पदाधिकारीहरूसँग समन्वय गरी जनसहभागिता बढाउने र धार्मिक पर्यटन प्रवर्द्धनमा विशेष जोड दिने बताउनुभयो।

बैठकमा उपाध्यक्षद्वय विमला गुप्ता र विनोद पटेल, सचिव राज सराफ, कोषाध्यक्ष आनन्द पटेल, सदस्यहरू राकेश साह, अभिलाष गुप्ता, अर्जुन चौधरी, सन्तोष कुशवाहा, राजु बैठा, अनिल ओझा, रवि वर्णवाल, रश्मि राजभण्डारी र सञ्जय साह लगायतको उपस्थिति रहेको थियो।

धार्मिक तथा सांस्कृतिक पहिचान संरक्षणमा पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने निष्कर्ष निकाल्दै बैठकले स्थानीय तहमा ओझेलमा परेका धार्मिक पर्यटकीय स्थलहरूको खोजी, संरक्षण र प्रचारमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता समेत जनाएको छ।

पोडकास्ट सुन्नुहोस