२०८२ चैत्र १८ गते, बुधबार १८:०८

जनतासँग गरेका वाचा पूरा गर्छौँ :सभापति लामिछाने

पर्सा – 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बुधबार पर्सा जिल्ला अदालतमा उपस्थित भई तारेख बुझेका छन् । सिमरा विमानस्थल हुँदै वीरगञ्ज आइपुगेका लामिछानेले आफूविरुद्ध दर्ता भएको ‘सानो पाइला सहकारी ठगी’ प्रकरणसँग सम्बन्धित मुद्दामा कानुनी प्रक्रिया पूरा गर्दै तारेख बुझेका हुन् ।

​अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार लामिछानेले आवश्यक कानुनी प्रक्रिया पूरा गरी तारेख बुझेका हुन् । उनी अदालत पुग्दा सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै बिहानैदेखि अदालत परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरी सुरक्षा कडा पारिएको थियो ।

​अदालतमा प्रक्रिया सकेलगत्तै लामिछाने अपराह्न सुरक्षा घेराका बीच काठमाडौँ फर्किएका छन् । उनलाई हेर्न र समर्थन गर्न अदालत आसपासका क्षेत्रमा रास्वपाका समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

‘जनतासामु गरेका वाचा पूरा गर्छौँ’

यसअघि सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धताहरू वर्तमान सरकारले पूरा गर्ने दाबी गरे । उनले सरकारले आफ्नो वाचा–पत्रअनुसार नै काम अगाडि बढाउने बताए ।

​‘हामी जनतालाई दिएको वाचा बोकेर नै सरकारमा गएका हौँ, ती सबै प्रतिबद्धताहरू पूरा गर्छौँ,’ लामिछानेले भने । उनले कानुनी प्रक्रियामा आफूले सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि अदालतको आदेशको पालना गर्ने स्पष्ट पारे ।

​विभिन्न मुद्दाका सन्दर्भमा लामिछाने पटक–पटक अदालतमा उपस्थित हुँदै आएका छन् । पछिल्लो पटकको उपस्थितिसँगै उनले कानुनी दायित्व पूरा गरी पुनः राजधानी फर्किएका हुन् ।

पोडकास्ट सुन्नुहोस