काठमाडौँ –
नयाँ राजनीतिक समीकरण र शक्ति सन्तुलनको बहसबीच संघीय संसद्को अधिवेशन आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक बस्न लागेको बैठकलाई देशको आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण थालनीका रूपमा हेरिएको छ।
सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा आज दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ। राष्ट्रपति रामचन्द्र पौडेल ले संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा चैत १६ गते नै दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।
संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, सुरक्षा व्यवस्था, प्राविधिक तयारीदेखि जनशक्तिसम्म सबै तयारी पूरा भइसकेको छ। माथिल्लो सदन राष्ट्रियसभाको बैठक भने सचिवालय परिसरमै रहेको छुट्टै कक्षमा बस्नेछ।
संवैधानिक व्यवस्था अनुसार निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र संसद् अधिवेशन बोलाउनुपर्ने प्रावधान छ। सोही अनुसार निर्वाचन आयोगले चैत ५ गते अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएपछि अधिवेशनको बाटो खुलेको थियो।
नयाँ अंकगणित, नयाँ चुनौती
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा यसपटक रोचक शक्ति सन्तुलन देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित सबैभन्दा ठूलो शक्ति बनेको छ भने नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेकपा १७, श्रम संस्कृति पार्टी ७, राप्रपा ५ र एक स्वतन्त्र सांसद छन्। यस्तो संरचनाले सरकार गठनदेखि नीति निर्माणसम्म नयाँ समीकरण र सहकार्यको आवश्यकता देखाएको छ।
पहिलो बैठकको सम्भावित एजेन्डा
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठक औपचारिकता र राजनीतिक संकेतले भरिएको हुनेछ। महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी कार्यसूचीमा आठ प्रमुख एजेन्डा समावेश छन्।
बैठकको सुरुवातमै ज्येष्ठ सदस्य वा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्नेछन्। त्यसपछि सरकार गठन प्रक्रियासँग जोडिएका विषय-प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनबारे जानकारी प्रस्तुत गरिनेछ।
अबको दिशा के?
आजको बैठक केवल औपचारिक सुरुवात मात्र होइन, आगामी दिनमा सरकार कसरी बन्ने, संसद् कति प्रभावकारी हुन्छ र जनअपेक्षा कसरी सम्बोधन हुन्छ भन्ने प्रश्नहरूको प्रारम्भिक संकेत दिने महत्वपूर्ण क्षण पनि हो। नयाँ जनादेशसहित संसद् प्रवेश गरेका दलहरूबीच सहकार्य र प्रतिस्पर्धा दुवैको नयाँ अध्याय आजबाट सुरु हुँदैछ।













