२०८२ चैत्र १९ गते, बिहीबार ०८:४४

आजदेखि एसईई परीक्षा सुरु, सामूहिक अनुगमनमा रोक

परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै

काठमाडौं –

देशभरका लाखौँ विद्यार्थीका लागि प्रतिक्षित क्षण सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि औपचारिक रूपमा प्रारम्भ भएको छ। विद्यार्थीहरूका लागि ‘जीवनको पहिलो ठूलो परीक्षा’ मानिने एसईई यसपटक थप व्यवस्थित, कडाइ र छिटो नतिजा प्रकाशनको लक्ष्यसहित सञ्चालन हुँदैछ।

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले विगतझैं देशभर एकैपटक बिहान ८ बजेदेखि परीक्षा सुरु गराएको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ र परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने लक्ष्य लिइएको छ।

यस वर्ष एसईईमा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदैछन्। तीमध्ये ४ लाख ४१ हजार ५६६ जना नियमिततर्फ र ७० हजार ८५५ जना ग्रेड वृद्धितर्फका विद्यार्थी छन्। रोचक तथ्य के छ भने यसपटक छात्राको संख्या छात्रभन्दा बढी रहेको छ । २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना परीक्षार्थी छन्। नेपालबाहिर पनि परीक्षा सञ्चालन हुँदैछ ।जापानस्थित एक केन्द्रबाट २३ जना विद्यार्थी सहभागी हुँदैछन्।

 पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ। त्यसपछि क्रमशः नेपाली, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन र ऐच्छिक विषयहरूको परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ।

देशभर १ हजार ९६६ परीक्षा केन्द्र तोकिएका छन्, जहाँ ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षा दिँदैछन्। प्रत्येक केन्द्रमा सुरक्षा कडाइ गरिएको छ—१५ जना प्रहरीसहित केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र अन्य कर्मचारीको व्यवस्था गरिएको छ।

‘जहाँ परीक्षा, त्यहीँ जाँच’ छिटो नतिजाको नयाँ योजना

यस वर्षको सबैभन्दा ठूलो परिवर्तन भनेको उत्तरपुस्तिका परीक्षण प्रणाली हो। अब ‘जहाँ परीक्षा, त्यहीँ परीक्षण’ गर्ने व्यवस्था लागू गरिएको छ, जसले नतिजा छिटो ल्याउने विश्वास गरिएको छ। परीक्षा सकिएको बढीमा तीन दिनभित्र जाँच सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

उत्तरपुस्तिका सुरक्षित रूपमा सिलबन्दी गरी शिक्षा विकास तथा समन्वय एकाइमा पठाइनेछ। परीक्षण प्रक्रियामा पारदर्शिता कायम गर्न सिसिटिभी जडान, मोबाइल प्रतिबन्ध र कडा अनुगमनको व्यवस्था गरिएको छ।

सामूहिक अनुगमनमा रोक

परीक्षार्थीलाई अनावश्यक तनाव नहोस् भन्ने उद्देश्यले यस वर्ष सामूहिक अनुगमनमा पूर्ण रोक लगाइएको छ। अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छुट्टै समिति गठन गरिएको छ।

अबको लक्ष्य: छिटो, निष्पक्ष र विश्वसनीय नतिजा

यसपटकको एसईई केवल परीक्षा मात्र होइन । व्यवस्थापन, पारदर्शिता र विश्वसनीयताको परीक्षण पनि हो। विद्यार्थी, अभिभावक र राज्य सबैको नजर अब नतिजातर्फ केन्द्रित हुनेछ, जुन छिटो र निष्पक्ष आउने अपेक्षा गरिएको छ।

देशभरका विद्यार्थीहरूका लागि आजदेखि सुरु भएको यो यात्रा केवल उत्तरपुस्तिकामा सीमित छैन। यो उनीहरूको भविष्यतर्फको पहिलो ठोस पाइला पनि हो।

पोडकास्ट सुन्नुहोस