२०८२ चैत्र १९ गते, बिहीबार १५:१५

३ अर्ब ८१ करोड अपचलनको आरोपमा बिचौलिया दीपक भट्ट पक्राउ

काठमाडौँ-

विभिन्न ठुला आयोजना र सेटिङमा ‘बिचौलिया’को पहिचान बनाएका व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भट्टलाई बुधबार काठमाडौँबाट नियन्त्रणमा लिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा भट्टलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। विभागले उनीमाथि ३ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको गम्भीर आर्थिक अपचलन र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको थियो। केही दिनअघि मात्रै विभागले उनको पासपोर्ट समेत रोक्का गरेको थियो।

यस्तो छ ३ अर्ब ८१ करोडको अपचलन फेहरिस्त

विभागको प्रारम्भिक अनुसन्धान अनुसार भट्टले हिमालयन रि–इन्स्योरेन्स र यससँग आबद्ध विभिन्न संस्थाहरूको ३ अर्ब ८१ करोड ४६ लाख ४ हजार २३० रुपैयाँ दुरुपयोग गरेको आरोप छ। उनले सो रकम दोस्रो बजारमा नेपाल रि–इन्स्योरेन्स कम्पनी लगायतका विभिन्न कम्पनीहरूको सेयर खरिद गर्न प्रयोग गरेको देखिएको छ।

कुन संस्थाबाट कति रकम अपचलन?

  • हिमालयन रि–इन्स्योरेन्स: २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ

  • नेपाल लाइफ इन्स्योरेन्स (सहायक कम्पनी): ३७ करोड रुपैयाँ

  • लार्ज क्याप फन्ड: २५ करोड १४ लाख ८४ हजार ७४८ रुपैयाँ

  • नेपाल माइक्रो इन्स्योरेन्स: १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ

  • हिमालयन सेक्युरिटिज: २ करोड २१ लाख ९७ हजार १४४ रुपैयाँ

यी सबै रकम धितोपत्र दलाल इजाजत नम्बर ५५ रहेको ‘भृकुटी स्टक ब्रोकिङ कम्पनी’ मार्फत भुक्तानी गरी सेयर खरिदमा प्रयोग गरिएको विभागको दाबी छ।

नियामक निकायमाथि विभागको प्रश्न

विभागले गत फागुन २८ गते नेपाल बिमा प्राधिकरणलाई पत्राचार गर्दै बिमा कम्पनी र कोषहरूको अर्बौँ रुपैयाँ दुरुपयोग भएको विषयमा प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो। बिमा कम्पनीहरूको पैसा दोस्रो बजारमा सेयर खेल्न र व्यक्तिगत लाभमा प्रयोग गरिएको पाइएपछि विभागले भट्टमाथि कडा निगरानी राखेको थियो।

भट्ट पक्राउ परेसँगै बिमा क्षेत्र र धितोपत्र बजारमा हुने ठुला खालका आर्थिक अपराधको जालो फेला पर्ने अनुमान गरिएको छ।

पोडकास्ट सुन्नुहोस