२०८२ चैत्र २० गते, शुक्रबार १३:२९

सभामुखमा रास्वपाका डोलप्रसाद अर्यालको उम्मेदवारी: रवि लामिछाने प्रस्तावक, स्वर्णिम वाग्ले समर्थक

काठमाडौँ-

प्रतिनिधिसभाको सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डोलप्रसाद (डिपी) अर्यालले उम्मेदवारी दर्ता गराउनुभएको छ। शुक्रबार बिहान ११ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय पुगेर उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो।

अर्यालको उम्मेदवारीको प्रस्तावकमा रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछाने रहनुभएको छ भने समर्थकमा सांसदहरू डा. स्वर्णिम वाग्ले, सोविता गौतम र सुनील लम्साल रहनुभएको छ। नयाँ राजनीतिक समीकरण र संसदीय अभ्यासमा रास्वपाले सभामुख पदमा दाबी प्रस्तुत गरेसँगै सदनको अंकगणितमा चासो बढेको छ।

निर्वाचन तालिका र प्रक्रिया

सङ्घीय संसद् सचिवालयका अनुसार सभामुखका लागि आज बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। दर्ता भएका उम्मेदवारहरूको नामावली आजै दिउँसो २:३० बजे सार्वजनिक गरिने सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो।

सभामुख चयनका लागि आगामी आइतबार बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। सोही बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ।

फागुन २१ को निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधिसभाले आफ्नो नेतृत्व चयन गर्ने प्रक्रिया सुरु गरेसँगै शक्ति सन्तुलनमा रास्वपाको भूमिका निर्णायक देखिएको छ।

पोडकास्ट सुन्नुहोस