२०८२ चैत्र २० गते, शुक्रबार १३:२९

सडक निर्माणमा अवरोध गरी घुस लिने सशस्त्रका इन्स्पेक्टर अधिकारी ४० हजारसहित पक्राउ

जनकपुरधाम-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको लालगढबाट सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) ओकिल अधिकारीलाई ४० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले विशेष सूचनाका आधारमा शुक्रबार बिहान लालगढ क्षेत्रबाट अधिकारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो।

सडक निर्माणमा अवरोध गरी असुली

पक्राउ परेका इन्स्पेक्टर अधिकारीले कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डमा अवरोध सिर्जना गरेको पाइएको छ। सो सडक खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक दुःख दिने र काम अघि बढाउन घुस माग्ने गरेको उजुरी अख्तियारमा परेको थियो।

सोही उजुरीका आधारमा अख्तियारको टोलीले अधिकारीमाथि केही समयदेखि निगरानी बढाउँदै आएको थियो। सोही क्रममा सेवाग्राहीबाट ४० हजार रुपैयाँ लिँदै गर्दा उनलाई टोलीले रंगेहात फेला पारेको अख्तियार स्रोतले जनाएको छ।

अख्तियारले नियन्त्रणमा लिइएका अधिकारीमाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ। विकास निर्माणका कार्यमा सुरक्षा निकायका जिम्मेवार अधिकारीबाटै अवरोध पुर्‍याई घुस असुल गरेको घटनाले स्थानीय स्तरमा चर्चा पाएको छ।

पोडकास्ट सुन्नुहोस