वीरगन्ज-
संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले देशको आर्थिक रूपान्तरणलाई प्रमुख एजेन्डा बनाएर कार्यप्रारम्भ गरिसकेको बताउनुभएको छ। वीरगन्जमा शुक्रबार आयोजित आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्व-बजेट सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको अभूतपूर्व जनादेश नै आर्थिक सुधारका लागि भएको स्पष्ट पार्नुभयो।
मुलुकको अर्थतन्त्र सबल बनाउन सरकार गठनलगत्तै राजस्व विभागसहितका केही निकायहरू खारेज गरेर काम सुरु गरिसकेको चर्चा गर्दै उहाँले भन्नुभयो, “यो त कास्टिङ मात्रै हो, पूरा फिल्म त अझ हेर्न बाँकी नै छ।” उहाँले पूर्व अर्थमन्त्री रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनमा ल्याइएकाले अब अर्थतन्त्रका धेरै बेथितिहरू समाप्त भएर जाने दाबी गर्नुभयो।
विगतका सरकारहरूलाई जस्तो यो सरकारलाई अहिले छुट नभएको उल्लेख गर्दै मन्त्री वाग्लेले भन्नुभयो, “कांग्रेसले विगतमा राजनीतिक परिवर्तनका लागि र वामपन्थी शक्तिहरूले सामाजिक जागरणका लागि ठूलो योगदान दिए, तर आर्थिक मुद्दामा हामी धेरै पछाडि पर्यौँ। त्यसैले अब आर्थिक रूपान्तरणका लागि रास्वपा नेतृत्वको सरकारले काम गर्नेछ।” उहाँले निजी क्षेत्रलाई ‘बत्तिएर उड्न’ दिनुपर्ने मान्यता सरकारको रहेको बताउँदै आगामी बजेट निजी क्षेत्र मैत्री हुने र करको बोझ तथा प्रक्रियागत झन्झट हटाउन आवश्यक परे ऐनहरूसमेत खारेज वा संशोधन गरिने प्रतिबद्धता जनाउनुभयो।
प्रधानमन्त्री बालेन्द्र शाहले जनतालाई सास्ती नहुने गरी प्रत्यक्ष राहत दिने दिशामा काम गर्न निर्देशन दिइसकेको जानकारी दिँदै मन्त्री वाग्लेले सरकारको प्राथमिकताको पहिलो नम्बरमा सुशासन, दोस्रोमा मध्यम वर्गको जीवनस्तर सुधार र तेस्रोमा रोजगारी सिर्जना रहेको सुनाउनुभयो। उहाँले सुशासनका लागि निर्मम भएर चालिएका कदमबाट कोही अतालिन्छ भने त्यसले सरकारलाई केही फरक नपर्ने चेतावनी समेत दिनुभयो।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले बारा-पर्साका उद्योगीहरूले भोग्दै आएका नीतिगत र व्यावहारिक समस्याबारे मन्त्रीको ध्यानाकर्षण गराउनुभयो। उहाँले भन्नुभयो, “आर्थिक सुधार आयोगको प्रतिवेदन यो सरकारले पनि लागू गर्न सकेन भने हामी व्यवसायीहरू देशै छाडेर भाग्नुपर्ने अवस्था आउन सक्छ।” अध्यक्ष गौतमले बारा-पर्सा कोरिडोरमा औद्योगिक क्षेत्र स्थापना गर्न, तीनै तहका सरकारले असुल्ने दोहोरो-तेहेरो कर हटाउन र सीमा क्षेत्रको अवैध कारोबार रोक्न माग गर्नुभयो।
अध्यक्ष गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राजस्व सचिव भूपाल बराल, पर्सा क्षेत्र नं. १ का सांसद हरि पन्त, वीरगन्ज भन्सारका प्रमुख प्रशासक, राजस्व कार्यालयका प्रमुख लगायत यस क्षेत्रका प्रतिष्ठित उद्योगी व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो।













