२०८२ चैत्र २५ गते, बुधबार ०९:४२

चन्द्रमाको पछाडिबाट देखियो पृथ्वीको ‘अर्थसेट’,अन्तरिक्ष इतिहासमा नयाँ अध्याय

काठमाडौं –

मानव इतिहासमै दुर्लभ मानिने क्षण-चन्द्रमाको पछाडिबाट उदाउँदै गरेको पृथ्वीको दृश्य-अब क्यामेरामा कैद भएको छ। नासाको Artemis II मिसनले अन्तरिक्ष अन्वेषणमा नयाँ माइलस्टोन कायम गर्दै चन्द्रमाको नजिकबाट ऐतिहासिक ‘फ्लाइबाई’ पूरा गरेको छ।

यस रोमाञ्चक यात्रामा Orion spacecraft चन्द्रमाको सतहबाट करिब ४ लाख ६७ हजार माइल नजिक पुग्यो। अझ रोचक कुरा ,यो मिसनले Apollo 13 ले बनाएको मानव यात्राको सबैभन्दा टाढाको कीर्तिमानसमेत तोड्दै पृथ्वीबाट करिब २ लाख ५२ हजार ७५६ माइल टाढासम्म पुग्न सफल भयो।

सात घण्टासम्म चलेको फ्लाइबाईका क्रममा अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको ‘फार साइड’ पृथ्वीबाट कहिल्यै नदेखिने रहस्यमय भाग नजिकबाट नियाले। त्यो समय चन्द्रमाको करिब २१ प्रतिशत भाग सूर्यको प्रकाशले उज्यालो देखिएको थियो, जसले दृश्यलाई अझ रहस्यमय बनायो।

यस ऐतिहासिक यात्रामा अन्तरिक्ष यात्रीहरू Reid Wiseman, Victor Glover, Christina Koch र Jeremy Hansen ले करिब पाँच घण्टामै झण्डै १० हजार तस्वीरहरू खिचेका छन्, जसले वैज्ञानिक अध्ययनका लागि अमूल्य सामग्री प्रदान गर्नेछ।

फ्लाइबाईको सबैभन्दा भावुक क्षण तब आयो, जब ओरियन क्याप्सुल चन्द्रमाको पछाडि पुग्दा करिब ४० मिनेटसम्म पृथ्वीसँग सम्पर्क टुट्यो। त्यही ‘ब्ल्याकआउट’ अवधिमा चालक दलले दुर्लभ ‘अर्थसेट’ दृश्य देखे ,जहाँ चन्द्रमाको किनारबाट पृथ्वी अस्ताउँदै गरेको देखिन्थ्यो। यो दृश्यले सन् १९६८ को Apollo 8 मिसनको प्रसिद्ध ‘Earthrise’ तस्बिरको झल्को दिलायो।

अनुसन्धानका क्रममा टोलीले चन्द्रमाका विशाल खाडलहरू Hertzsprung Basin र Orientale Basin को समेत अध्ययन गरेको छ, जसले चन्द्रमाको भूगोल बुझ्न नयाँ जानकारी दिने अपेक्षा गरिएको छ।

यसैबीच, अन्तरिक्षमै अनुभव गरिएको दुर्लभ सूर्यग्रहणले यात्रालाई झन् अद्भुत बनायो। चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा ढाक्दा ‘टोटालिटी’ अवस्था करिब एक घण्टासम्म रह्यो पृथ्वीमा केही मिनेट मात्र देखिने यो दृश्य अन्तरिक्षमा लामो समयसम्म अनुभव गर्न पाइयो।

ग्रहणका बेला सूर्यको बाहिरी वायुमण्डल ‘कोरोना’ र त्यसबाट निस्कने ‘स्ट्रिमर्स’ अन्तरिक्ष यात्रीहरूलाई “बच्चाको कपालझैं फैलिएको” जस्तो देखिएको थियो। साथै, Mars, Venus र Saturn ग्रहहरू स्पष्ट देखिनुका साथै पृथ्वीबाट परावर्तित प्रकाशका कारण चन्द्रमा झलमल्ल चम्किएको दृश्यले सबैलाई मोहित बनायो।

नासाका अनुसार, यस मिसनबाट प्राप्त तस्वीर र तथ्याङ्कले चन्द्रमाको उत्पत्ति र विकासबारे बुझ्न वैज्ञानिकहरूलाई ठूलो मद्दत पुग्नेछ। क्यानेडियन अन्तरिक्ष यात्री Jeremy Hansen ले यो अनुभवलाई “दिमाग नै घुमाइदिने, असाधारण मानवीय अनुभूति” भनेर वर्णन गरेका छन्।

अन्तरिक्षबाट कैद भएका यी अद्भुत दृश्यहरूले मानव जिज्ञासाको सीमा अझ फराकिलो बनाउँदै नयाँ युगको संकेत दिएका छन्।

पोडकास्ट सुन्नुहोस