२०८२ चैत्र २५ गते, बुधबार १४:४३

विश्व बजारमा तेल सस्तो, नेपालमा अझै महँगै! उपभोक्ताले कहिले पाउने राहत?

वीरगन्ज –

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य एक्कासि ओरालो लाग्दा विश्वभर राहतको संकेत देखिएको छ। तर, यही गिरावटको फाइदा नेपाली उपभोक्ताले कहिले पाउने भन्ने प्रश्न भने अझै अनुत्तरित छ।

इरान-अमेरिका बीच दुई हप्ते युद्धविरामको सहमति भएसँगै बजारमा उत्साह देखिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि तनाव कम हुँदा बन्दजस्तै रहेको होर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने संकेत मिलेको छ। त्यसको प्रभावस्वरूप अमेरिकी कच्चा तेलको मूल्य १५ प्रतिशतले घटेर प्रतिब्यारेल ९६.३१ डलरमा झरेको छ भने ब्रेन्ट क्रुड पनि १३ प्रतिशतले घट्दै ९५.३६ डलरमा आइपुगेको छ।

तर, विश्व बजारमा मूल्य घटे पनि नेपालमा भने तत्कालै मूल्य घट्ने सम्भावना कमजोर देखिएको छ। नेपाल आयल निगमले स्पष्ट संकेत दिएको छ—‘अहिले नै उपभोक्ताले राहत पाउने अवस्था छैन।’

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार समस्या कच्चा तेलको होइन, प्रशोधित तेलको महँगो मूल्य हो।
उनले भने, “हाम्रो खरिद सिधै कच्चा तेलसँग जोडिएको हुँदैन। अहिले कच्चा तेल १०० डलर आसपास हुँदा पनि डिजेलजस्ता प्रशोधित तेलको मूल्य ३०० डलरसम्म पुगेको छ। सामान्य अवस्थामा २०देखि २५ डलरको अन्तर हुनेमा अहिले २००देखि२५० डलरसम्मको फरक छ।”

यता सरकारले करमा ५० प्रतिशत छुट दिए पनि निगमको घाटा घट्ने संकेत देखिएको छैन। पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ र डिजेलमा प्रतिलिटर १२० रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।

सरकारको कर छुटले केही राहत दिए पनि त्यो पर्याप्त नभएको निगमको दाबी छ। ठाकुरका अनुसार, “१५ दिनमा करिब डेढ अर्ब रुपैयाँ मात्रै रिकभर हुन्छ, जबकि त्यही अवधिमा हाम्रो घाटा ११ अर्ब ७१ करोड पुग्छ।”

अब सबैको नजर भारतीय आयल कर्पोरेसनबाट आउने नयाँ मूल्यसूचीमा छ। आगामी १५ तारिख साँझ आउने नयाँ दरले मात्रै नेपालमा इन्धनको भाउ घट्ने कि नघट्ने टुंगो लाग्नेछ। विश्व बजारमा तेल सस्तो भए पनि नेपालको सवारी र भान्सासम्म त्यो राहत आइपुग्न अझै समय लाग्ने निश्चितजस्तै देखिएको छ।

पोडकास्ट सुन्नुहोस