काठमाडौँ –
सर्वसाधारणको ढाड भाँचिने गरी सार्वजनिक यातायात र ढुवानी भाडामा एकैपटक ठूलो वृद्धि गरिएको छ। सरकारको सहमतिपछि यातायात व्यवस्था विभागले नयाँ भाडादर लागू गर्ने तयारी गरेसँगै दैनिक जीवन अझ महँगो हुने संकेत देखिएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार, सार्वजनिक सवारीको भाडा झन्डै १७ प्रतिशतले बढाइएको छ। अझै गम्भीर कुरा ,मालवाहक सवारीको भाडा पहाडमा २१.६८ प्रतिशत र तराईमा १५.७५ प्रतिशतले उकालो लागेको छ। यसको सीधा असर बजार भाउदेखि सर्वसाधारणको भान्सासम्म पर्ने निश्चितजस्तै छ।
सरकारले भाडा बढाउन सैद्धान्तिक स्वीकृति दिइसकेको छ र विभागले चाँडै नै नयाँ दर सार्वजनिक गर्ने तयारीमा छ। तर प्रश्न उठेको छ—जनताको आय नबढ्दै खर्च किन निरन्तर बढाइँदैछ?
यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र सञ्चालन खर्च बढेको कारण देखाउँदै लामो समयदेखि भाडा समायोजनको माग गर्दै आएका थिए। तर, विश्व बजारमा कहिले घट्ने मूल्यको बहाना नेपालमा भने सधैं बढोत्तरीकै रूपमा किन देखिन्छ?
अब यो निर्णयले के स्पष्ट पारेको छ भने , यात्रा मात्र होइन, अब ढुवानी महँगिँदा दैनिक उपभोग्य वस्तुको मूल्य पनि थप उकालो लाग्नेछ।
सरकारको यो निर्णयले राहतभन्दा बढी दबाब सिर्जना गर्ने देखिएको छ, जसको भार अन्ततः सर्वसाधारणकै काँधमा पर्नेछ।













