२०८२ चैत्र २६ गते, बिहीबार १३:०५

१३ दिनपछि रमेश लेखक र केपी ओली रिहा: लेखक श्रीमतीको जिम्मामा, ओली उपचारका लागि राधिका शाक्यको संरक्षणमा

काठमाडौँ-

पछिल्लो राजनीतिक घटनाक्रमका बीच पक्राउ परेका दुई शीर्ष नेताहरू केपी शर्मा ओली र रमेश लेखक १३ दिनपछि हिरासत मुक्त भएका छन्। दुवै नेताहरूलाई आ-आफ्नो परिवारको जिम्मा जमानीमा रिहा गरिएको हो।

रमेश लेखक श्रीमतीको जिम्मामा

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट उनकी पत्नी यशोदा लेखकको जिम्मा लगाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार अनुसन्धानका क्रममा आवश्यक पर्दा उपस्थित हुने सर्तमा उनलाई छाडिएको हो। भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयपछि उनलाई भक्तपुरबाट पक्राउ गरिएको थियो।

अध्यक्ष ओली राधिका शाक्यको संरक्षणमा

त्यसै गरी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पक्राउ परेको १३औँ दिनमा रिहा भएका छन्। त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ। स्वास्थ्य अवस्था कमजोर रहेका कारण उनलाई अस्पतालमै पत्नीको जिम्मा जमानीमा रिहा गरिएको स्रोतले जनाएको छ।

 दुई फरक दलका प्रभावशाली नेताहरू एकै दिन र एकै प्रक्रियाबाट रिहा भएपछि यसलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ। दुवै नेताहरूलाई अनुसन्धानमा सहयोग गर्ने र आवश्यक परेका बेला उपस्थित हुने गरी ‘जिम्मा जमानी’ को कानुनी बाटो प्रयोग गरिएको छ।

पोडकास्ट सुन्नुहोस