काठमाडौँ-
नेपालमा अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन सट्टेबाजी (बेटिङ) सँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन र वेबसाइटहरू बन्द गरिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूसँगको समन्वयमा यस्ता अवैध डिजिटल प्लेटफर्महरू पहिचान गरी बन्द गराएको हो।
प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार, नेपाल टेलिकमले मात्रै हालसम्म सबैभन्दा धेरै २१ हजारभन्दा बढी सट्टेबाजी सम्बन्धी एप र युआरएल बन्द गरिसकेको छ। सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नम्बर ४२ मा रहेको ‘२४ घण्टाभित्र सट्टेबाजी सम्बन्धी साइट बन्द गर्ने’ निर्णय कार्यान्वयनका क्रममा यो कदम चालिएको हो।
कानुनी प्रावधान र सजाय
मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अनुसार सट्टेबाजी गर्नु वा गराउनु कानुनी रूपमा दण्डनीय अपराध हो। यस्तो कार्यमा संलग्न व्यक्तिलाई:
-
प्रयोग भएको रकम जफत गरिने।
-
एक वर्षसम्म कैद सजाय।
-
१० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।
त्यसैगरी, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ ले पनि जुवा वा सट्टेबाजीलाई प्रोत्साहन गर्ने खालका विज्ञापन गर्न पूर्ण रूपमा निषेध गरेको छ।
बन्द गर्ने प्रक्रिया जारी
मन्त्रिपरिषद्को चैत १३ को निर्णयपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चैत १५ मा प्राधिकरणलाई आवश्यक निर्देशन दिएको थियो। सोही निर्देशनका आधारमा हाल देशभरका इन्टरनेट सेवा प्रदायकहरूले सट्टेबाजीका एप र वेबसाइटहरू निरन्तर पहिचान गरी बन्द गर्ने कार्य जारी राखेका छन्।
सरकारले नागरिकलाई यस्ता अवैध डिजिटल गतिविधिबाट टाढा रहन आग्रह गर्दै अनधिकृत रूपमा सट्टेबाजी गरेको पाइएमा कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। प्राधिकरणले कुनै पनि शङ्कास्पद एप वा वेबसाइटबारे जानकारी भएमा तुरुन्त सूचित गर्न समेत सर्वसाधारणलाई अपिल गरेको छ।














