२०८३ बैशाख १९ गते, शनिबार २०:५०

ठोरीमा ‘जनताको घरदैलोमा डाक्टर’: २५९ स्थानीयले पाए निःशुल्क उपचार र औषधि

पर्सा/ठोरी-

पर्साको ठोरी गाउँपालिका वडा नं. १ मा शनिबार ‘जनताको घरदैलोमा डाक्टर’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नागरिक समाज ठोरीको आयोजना र प्रभु हस्पिटल वीरगन्जको प्राविधिक सहकार्यमा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

शिविरमा ठोरीका १५९ महिला र १०० पुरुष गरी कुल २५९ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। सो अवसरमा बिरामीहरूको सुगर कीटमार्फत परीक्षण गरिनुका साथै आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको थियो। अस्पतालसम्म पहुँच नभएका, गरिब तथा विपन्न बिरामीहरूलाई उनीहरूकै घरदैलोमा उपचार र परामर्श सेवा पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यको प्रमुख आतिथ्य तथा स्थानीय सन्तोष श्रेष्ठको समन्वयमा सम्पन्न कार्यक्रममा प्रभु हस्पिटलका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रयास तिम्सिना र डा. सुरुची श्रेष्ठले बिरामीहरूको जाँच गर्नुभएको थियो।

सो अवसरमा बोल्दै प्रमुख अतिथि सांसद शाक्यले दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न आफूले विशेष पहल गरेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि एवं ठोरी गाउँपालिकाकी अध्यक्ष गोकुली रेग्मीले विकट क्षेत्रका जनताका लागि अस्पताल र नागरिक समाजले गरेको यो प्रयास प्रशंसनीय रहेको बताउनुभयो। उहाँले आगामी दिनमा गाउँपालिकाको तर्फबाट यस्ता मानवीय सेवाका कार्यमा आवश्यक समन्वय र सहयोग रहने विश्वास दिलाउनुभयो।

त्यस्तै, कार्यक्रमका प्रमुख दिलीपराज कार्कीले अस्पताल व्यवसाय मात्र नभएर सेवामुखी पनि हुनुपर्छ भन्ने मान्यताका साथ जनतासँग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो।

शिविरको क्रममा ठोरी–१ स्थित वृद्धाश्रममा आश्रित १६ जना आमाबुवाहरूको स्वास्थ्य परामर्श र परीक्षण गरिएको छ। आश्रममै पुगेर चिकित्सकको टोलीले उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक औषधिहरू समेत सहयोग स्वरूप प्रदान गरेको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस