२०८३ असार १६ गते, मंगलवार १०:००

बाराको सिमरामा स्कुटर, मोटरसाइकल र ट्र्याक्टर ठोक्किँदा पर्साका किशोरको ज्यान गयो, अन्य दुई घाइते

वीरगन्ज

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ एयरपोर्ट नजिकै भएको भीषण सवारी दुर्घटनामा परी पर्सा जिल्लाका एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २९ बस्ने अन्दाजी १७ वर्षीय लक्की सराफ रहेका छन् ।

डुमरवाना–सिमरा भित्री सडकखण्डमा सोमबार बेलुका स्कुटर, मोटरसाइकल र ट्र्याक्टर एकआपसमा ठोक्किँदा स्कुटर चालक सराफ गम्भीर घाइते भएका थिए । उनलाई दुर्घटनालगत्तै उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पुर्‍याइएकोमा चिकित्सकले सोमबार साँझ नै मृत घोषणा गरेका हुन् । पर्साका किशोरको दुर्घटनामा असामयिक निधन भएपछि उनको गाउँ र परिवार शोकमा डुबेको छ ।

प्रहरीका अनुसार डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना २८ प ५८५५ नम्बरको स्कुटर मृतक सराफले चलाइरहेका थिए । सोही दिशामा अगाडि गुडिरहेको प्र.२-०३-००१ त ३७७३ नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३-०४१ प २२७४ नम्बरको मोटरसाइकलसँग सराफको स्कुटर एकाएक ठोक्किएको थियो । मोटरसाइकलसँग ठोक्किएर स्कुटर अनियन्त्रित भएपछि चालक सराफ गुडिरहेको ट्र्याक्टरको मुनि पस्न पुगेका थिए, जसका कारण उनलाई गम्भीर चोट लागेको थियो ।

दुर्घटनामा स्कुटरको पछाडि सवार १७ वर्षीय दिलसाद देवान भने भाग्यवश सामान्य घाइते भएका छन् । उनको उपचार पश्चात् अस्पतालबाट डिस्चार्ज भइसकेको छ ।

यस्तै, स्कुटरसँग ठोक्किएको मोटरसाइकलका चालक बारा जितपुरसिमरा–२३ बस्ने २९ वर्षीय रइफुल आलम अन्सारी घाइते भएका छन् । उनलाई थप उपचारका लागि वीरगन्जस्थित हेल्थ केयर अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिमराले दुर्घटनामा संलग्न ट्र्याक्टरका चालक बारा जितपुरसिमरा–४ औराहा बस्ने ७० वर्षीय शिवराज चौधरीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

बाराको सिमरामा स्कुटर, मोटरसाइकल र ट्र्याक्टर ठोक्किँदा पर्साका किशोरको ज्यान गयो, अन्य दुई घाइते

वीरगन्ज– बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ एयरपोर्ट नजिकै भएको भीषण सवारी दुर्घटनामा

बाराको सिमरामा स्कुटर, मोटरसाइकल र ट्र्याक्टर ठोक्किँदा पर्साका किशोरको ज्यान गयो, अन्य दुई घाइते

वीरगन्ज– बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ एयरपोर्ट नजिकै भएको भीषण सवारी दुर्घटनामा

पोडकास्ट सुन्नुहोस