काठमाडौं –
कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको दीर्घकालीन समस्या समाधानका लागि चार सदस्यीय अध्ययन समिति गठन गरेकी छन् ।
मन्त्रालयका अनुसार समितिलाई हालसम्म गठन भएका विभिन्न आयोगका सिफारिसहरूको अध्ययन गरी एक महिनाभित्र विस्थापित परिवारको उचित व्यवस्थापनका लागि स्पष्ट मार्गचित्र तयार गर्न जिम्मेवारी दिइएको छ । समितिले समस्या समाधानका उपाय, कार्यान्वयनका तरिका तथा आवश्यक सिफारिसहरू सरकारसमक्ष पेश गर्नेछ ।
समितिलाई विगतका आयोगहरूको प्रतिवेदन अध्ययन गर्नुका साथै आवश्यक परे नयाँ आयोग गठन गर्नुपर्ने आधार र त्यसको कार्यादेश (टीओआर) समेत तयार गरी सुझाव दिन भनिएको छ ।
मन्त्री चौधरीका अनुसार वन्यजन्तु सिकार आरक्षदेखि राष्ट्रिय निकुञ्जमा स्तरोन्नति हुने प्रक्रियामा निकुञ्जभित्र रहेका बस्तीहरू स्थानान्तरण गरिए पनि जग्गा तथा पुनःस्थापनासम्बन्धी समस्या हालसम्म समाधान हुन सकेको छैन । यही अवस्थालाई मध्यनजर गर्दै विस्थापित परिवारको उचित व्यवस्थापनका लागि अध्ययन समिति गठन गरिएको उनले बताइन् ।
सरकारले समितिको प्रतिवेदनका आधारमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि आवश्यक नीति तथा कार्यक्रम अघि बढाउने अपेक्षा गरिएको छ ।












