वीरगन्ज –
वीरगन्जमा आज अपराह्नदेखि त्रिभुवन राजपथअन्तर्गत सडक विस्तार कार्य पुनः सुरु हुने भएको छ। सडक डिभिजन कार्यालय, मकवानपुरले आज अपराह्न २ बजेदेखि वीरगन्जको गण्डक क्षेत्रबाट सडक विस्तार कार्य अघि बढाउने तयारी गरेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार त्रिभुवन राजपथअन्तर्गत वीरगन्जको गण्डक चोक क्षेत्रमा रहेका भौतिक संरचनाहरू डोजरको प्रयोग गरी हटाउने कार्य सडक डिभिजन कार्यालय, मकवानपुरले सुरु गर्न लागेको हो।
गण्डकदेखि इनर्वास्थित मितेरी पुलसम्मको क्षेत्रमा रहेका अतिक्रमित भौतिक संरचना हटाउँदै दायाँ–बायाँ २५/२५ मिटर सडक विस्तार गर्ने पूर्वनिर्धारित योजनाअनुसार दोस्रो चरणमा गण्डक चोक क्षेत्रबाट काम सुरु गरिनेछ। विशेषगरी विद्युत् जडान नभएका घर तथा संरचनाबाट हटाउने कार्य अघि बढाइने सहायक प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो।
विस्तार क्षेत्रमा रहेका भौतिक संरचना हटाउन आवश्यक डोजर तथा अन्य उपकरणहरू सम्बन्धित क्षेत्रमा पुगिसकेको प्रशासनले जनाएको छ। गण्डकबाट सुरु हुने अतिक्रमण हटाउने अभियान क्रमशः दक्षिणतर्फ विस्तार गर्दै मितेरी पुलसम्म पुर्याइने पनि प्रशासनको भनाइ छ।
यता, त्रिभुवन राजपथअन्तर्गत गण्डकदेखि इनर्वास्थित मितेरी पुलसम्मको सडक दायाँ–बायाँ २५ मिटरको सट्टा १५ मिटर मात्र विस्तार गर्नुपर्ने माग गर्दै स्थानीय सरोकारवालाले सरकारसँग आग्रह गरेको २४ घण्टा नबित्दै पुनः डोजर परिचालन हुन लागेको घटनालाई वीरगन्जवासीले अर्थपूर्ण रूपमा लिएका छन्।
राजनीतिक सहमतिका लागि वीरगन्जबाट काठमाडौं पुगेको टोलीको पहलले सडक विस्तार कार्यमा कुनै प्रभाव पार्न नसकेको स्थानीयको बुझाइ छ। बरु केही नेताहरू केवल छलफल र औपचारिक भेटघाटका लागि मात्र काठमाडौं पुगेको भन्ने चर्चा वीरगन्जमा चल्न थालेको छ।











